News

Aug 20, 2011

इजरायलले पुन: नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३- इजरायलले नेपाली कामदारलाई पुनः रोजगारीको अवसर प्रदान गर्ने भएको छ। सुसारे र कृषि मजदुरका निम्ति आकर्षक गन्तव्यका रुपमा रहेको इजरायल वैदेशिक रोजगार व्यवसायीहरुको अनियमितताका कारण दुई वर्षअघि बन्द भएको थियो। केही व्यवसायीले इजरायल जान चाहनेहरुसँग वास्तविक खर्चभन्दा ज्यादै धेरै रकम असुलेकाले त्यहाँको सरकारले नेपाली कामदार लिन बन्द गरेको हो। इजरायलमा रोजगारीमा जाने अवसर खुलाउन सरकारी स्तरमा पटकपटक भएका छलफल अन्ततः परिणाममुखी बनेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकृतले राससलाई बताए। यसैबीच, परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गाप्रसाद भट्टराईले नेपाली कामदारलाई पुनः कामको अवसर दिने इजरायली सरकारको निर्णयको पुष्टि गर्दै शीघ्र कार्यारम्भ हुने बताए। यसअघि चार हजारको हाराहारीमा नेपाली इजरायल जाने गरेका थिए। घरेलु कामदार र सुसारेका रुपमा त्यहाँ जानेमा महिलाको बाहुल्यता थियो।

No comments: