News

Aug 22, 2011

विजुक्छेले भने फेरि पनि बहुमतीय सरकार नै बन्नुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, भाद्र ५ - सहमतीय सरकार निर्माणका लागि दलहरु जुटिरहेको बेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भने फेरि पनि बहुमतीय सरकार नै बन्नुपर्ने बताएका छन् । नेपाल मजदुर किसान पार्टीको २१ औँ केन्द्रीय परिषद्को समापनको क्रममा सोमबार भक्तपुरको कमलविनायकमा आयोजना गरिएको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष विजुक्छेले सहमतीय सरकार निरङ्कुश हुने भएकाले बहुमतीय सरकारकै आवश्यकता रहेको बताएका हुन् । सहमतीय सरकारले निरङ्कुश निर्णय पनि गर्न सक्ने र त्यसलाई रोक्न प्रतिपक्ष नहुने भएकाले सहमतीय सरकार बन्न नहुने उनको तर्क थियो । विजुक्छेले सरकारले गर्ने राम्रा निर्णयको समर्थन र नराम्रा निर्णयको विरोध गर्नका लागि प्रतिपक्ष आवश्यक रहेको औँल्याए ।
तीन ठूला दलले निर्माण गर्ने सहमतीय सरकार अन्य साना दलका लागि घातक हुन सक्ने टिप्पणी गर्दै उनले साना दलको कुनै मान्यता नराखी सरकारले गलत निर्णय पनि गर्न सक्ने हुनाले बहुमतीय सरकारको पक्षमा आफू रहेको प्रष्ट पारे । सहमतीय सरकार गठनको सम्भावना न्यून रहेको बताउँदै उनले शान्ति प्रक्रिया र संविधान निर्माण गर्ने कुरा सरकारको नभएकाले त्यसलाई कुनै पनि सरकारले असर नगर्ने उल्लेख गरे ।
अध्यक्ष विजुक्छेले संविधानसभाले संविधान निर्माण गर्ने र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने हुँदा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरु त्यसमा जिम्मेवार हुनुपर्ने बताए । नेमकिपाले अब बन्ने सरकारले ल्याएको कार्यक्रम हेरेर मात्र सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिने पनि बताए ।

No comments: