News

Aug 19, 2011

गुगलले मोटोरोला १२ अर्ब ५० करोड डलरमा किन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, साउन ३१ (रोयटर्स)- गुगल इन्कपोर्रेसनले मोटोरोला मोबिलिटी होल्डिङ्ग इन्कपोर्रेसनलाई १२ अर्ब ५० करोड डलरमा किन्ने भएको छ। गुगलले मोबाइल सफ्टवेयर एन्ड्रोइडको बजार प्रवर्द्धन गर्न र एप्पललगायतका स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न यो निर्णय गरेको जनाएको छ। गुगलले यसलाई हालसम्मकै ठूलो सम्झौता भनेको छ। यसका लागि गुगलले मोटोरोलालाई प्रतिकित्ता ४० डलर तिनेर्छ। यो मूल्य मोटोरोलाको शुक्रबार न्युयोर्क स्टक एक्सचेन्जमा कायम मूल्यभन्दा ६३ प्रतिशत बढी हो। 'यो सम्झौताबाट गुगलले हार्डवेयर सफ्टवेयर दुवै व्यवसायमा हात हाल्न खोजेको देखिन्छ,' बिजिपि पार्टनर्सका विश्लेषक कोलिन गिलिसले भने। समाचार सार्वजनिक भएपछि मोटोरोलाको सेयर मूल्य सोमबार ५९ प्रतिशत बढेको छ।
गुगलको मोबाइल सफ्टवेयर 'एन्ड्रोइड' ले विश्व स्मार्टफोन बजारको आधा हिस्सा लिएको छ। अनुसन्धान संस्था क्यानलिसले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार एसिया-प्रशान्त क्षेत्रमा यसको दबदबा छ। गुगलले २००५ मा खरिद गरेको 'एन्ड्रोइड'लाई २००८ मा स्मार्टफोनका लागि सार्वजनिक गरेको थियो।
अहिले एन्ड्रोइडको प्रयोग प्रायः सबै ठूला मोबाइल फोन निर्माताहरूले गरिरहेका छन्। जसमा एचटिसी, एलजी, मोटोरोला र सामसङ छन्। क्यानलिसले विभिन्न ५६ मुलुकको बजारलाई हेरेर प्रतिवेदन तयार पार्छ। त्यसमध्ये ३५ मुलुकमा 'एन्ड्रोइड' एक नम्बर स्मार्टफोन प्लेटफर्म रहेको उसले जनाएको छ। यसको बजारको हिस्सा ४८ प्रतिशत छ।
स्मार्टफोन बजारमा गुगलको सबैभन्दा नजिकको प्रतिस्पर्धी एप्पलको हिस्सा १९ प्रतिशतमात्र छ। एप्पलले पनि आफ्नो बजार हिस्सा बढाउन संसारको सबैभन्दा ठूलो मोबाइल निर्माता कम्पनी नोकियालाई पछाडि पारेको छ। स्मार्टफोनको मामलामा सामसङसमेत नोकियाको अगाडि आएको छ। क्यानलिसले नोकियाको कमजोरीको फाइदा उठाएर अघि बढ्न सामसङ अझै सक्षम नभएको विश्ले षण गरेको छ। 'नोकियाको कमजोरीको फाइदा उठाउँदै बजार विस्तार गर्ने सबैभन्दा ठूलो मौका सामसङले पाएको छ, तर अझैसम्म सामसङले विश्व बजारमा पकड जमाउन सकेको छैन, ' प्रतिवेदनमा छ। सामसङले यो वर्ष १ करोड ७० लाख वटा स्मार्टफोन बेचेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ सय २१ प्रतिशतले बढी हो। कम्पनीले 'एन्ड्रोइड'बाहेक अन्य स्मार्टफोन पनि बिक्री गर्छ।
'एन्ड्रोइड' लोकप्रियताको घोडामा सवार भइरहेको छ, तर यसको बढ्दो लोकप्रियता गुगल र यसका निर्मातालाई टाउको दुखाइ पनि भएको छ। 'ओरेकल' कम्पनीले 'एन्ड्रोइड'विरुद्ध मुद्दा हालिदिएको छ। यो सफ्टवेयरमा मोबाइल ह्यान्डसेट निर्माता एप्पल र माइक्रोसफ्टले पनि दाबी गरेका छन्। माइक्रोसफ्ट र एन्ड्रोइड ह्यान्डसेट बनाउने केही कम्पनीबीच भएको सम्झौताले गर्दा उसले केही रकम त पाइरहेको छ। तर माइक्रोसफ्टले धेरै रकम माग गरिरहेको छ। माइक्रोसफ्टले आफूसँग नोर्टल प्याटेन्ट लाइसेन्स भएको दाबी गर्दै आएको छ। यही लाइसेन्सको बलमा गुगललाई पछार्न अघिल्लो महिना एप्पल, माइक्रोसफ्ट र ब्याल्कबेरी बनाउने रिसर्च इन मोसन(आरआइएम)ले गठजोड गरेका थिए। नोर्टलको प्याटेन्ट लाइसेन्सका कारण गुगललाई मोटो रकम कमाइ हुँदै आएको छ। अब यो गठजोडका कारण नयाँ कानुनी लडाइँ हुनसक्छ ।

No comments: