News

Aug 12, 2011

माओवादी निर्णयले प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २७ - शान्ति प्रक्रियामा ठोस प्रगति नभए राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री झलनाथ खनाललाई माओवादीको पछिल्लो निर्णयले घोषणा कार्यान्वयन गर्न दबाब दिएको छ । शान्ति प्रक्रियाको एक महत्त्वपूर्ण काम लडाकु समायोजनमा माओवादीले आफ्नो खाका सार्वजनिक गर्न अस्वीकार गरेपछि प्रधानमन्त्री राजीनामा दिनुपर्ने अवस्थामा आएका छन् । अध्यक्ष पुष्पकमल दाहाल निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले लडाकु समायोजनको खाका ल्याउने काम सरकारकै भएको ठहर गरेको छ । 'सरकारको नेतृत्व गर्ने एमाले, हामीले सेना समायोजनको खाका ल्याउने भन्ने कुरै भएन,' बैठकपछि माओवादी सचिव सीपी गजुरेलले भने । उनले संविधानसभाको ठूलो दलको नाताले सहयोग गर्न भने सकिने उल्लेख गरे । माओवादीले शुक्रबार नै सेना समायोजनको खाका ल्याएर प्रधानमन्त्रीको राजीनामा दुई चार दिनपछि लैजान सक्ने सम्भावना थियो । माओवादी बैठकले प्रधानमन्त्रीको राजीनामालाई पनि स्वविवेकीय अधिकार भनेको छ । 'हामीले प्रधानमन्त्रीलाई दबाब दिन मिल्दैन,' गजुरेलले भने, 'उहाँलाई हामी राजीनामा दिनुस् पनि भन्दैनौं, नदिनुस् पनि भन्दैनौं, यो उहाँको स्वविवेकको कुरा हो ।'उपाध्यक्ष बाबुराम भट्टराईले शुक्रबार राजधानीमा अयोजित एक कार्यक्रममा माओवादीले आजभोलि नै 'ब्रेक थ्रु' हुने गरी सेना समायोजनको खाका ल्याउने स्पष्ट पारेका थिए ।

No comments: