News

Aug 27, 2011

यातायात मजदुर र लिम्बुवान कार्यकर्ताबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान,भदौ १०- यातायात मजदुर र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताहरुबीच केहीबेर अघि धरानमा झडप भएको छ। झडपको क्रममा दुवैतर्फका गरी कम्तिमा ४ व्यक्ति घाइते भएका छन् भने एक प्रहरीसमेत समान्य घाइते छन्। घटनालगत्तै यातायात मजदुरहरुले यातायात आवागमन ठप्प बनाएका छन्। पुनः झडप हुने आशंकामा लिम्बुवानको कार्यालय रहेको धरान ९, आचार्यलाइनमा सशस्त्र र जनपथ प्रहरी व्यापाक परिचालन गरिएको छ। बिहान पहाडीरुटको बस स्टेण्डमा यातायात मजदुरले लिम्बुवान युवा मञ्चका नगर सदस्य सुरेन लिम्बुलाई कुटपिट गरेको बिषयमा लिम्बुवानको कार्यालयमा छलफल भइरहदा एक्कासी दुवै पक्षबीच झडप भएको हो। लिम्बुवानका कार्यकर्ताहरुले छलफल गर्न भनि बस स्टेण्डबाट २ जना मजदुरलाई आफ्नो कार्यालय ल्याएपछि आक्रोशित तीन दर्जन बढी मजदुरहरुले कार्यालय पुगेका थिए। कार्यालयभित्र दुवैपक्षबीच सहमति भइसकेको अवस्थामा बाहिर एक्कासी मजदुरहरुको समुह आएको र विवाद झिकेर आक्रमण गरेको परिषदका जिल्ला अध्यक्ष डम्बर खजुमले बताए। ‘बिहान हाम्रो कार्याकर्ता विनाकारण कुटिएको बारेमा छलफल भइरहदा एक्कासी मजदुरहरुको समुहले आक्रमण गर्यो'-उनले भने। उनका अनुसार बिहान आफ्नो ससुरालाई धनकुटाको पाखि्रबास पठाउन बसस्टेण्ड पुगेको बेला जर्बजस्ती तेह्रथुमको गाडीमा मजदुरहरुले चढाएको र त्यसको प्रतिवाद गर्दा कार्यकर्ता सुरेन लिम्बुलाई कुटपिट गरेको थियो। त्यही बिषयमा दिउसो करिब साढे एक बजे लिम्बुवानको कार्यालयमा सौहार्दपुर्णरुपमा छलफल भइरहेको उनको भनाई छ। यातायात मजदुरहरुले भने आफ्ना २ जना साथीहरुलाई हातियारसहित आएका लिम्बुवानका कार्यकर्ताहरुले टिकट काउण्टरबाट अपहरणशैलीमा लगेपछि छुटाउन आउदा खुकुरी प्रहार भएको बताएको छ। ‘हाम्रो साथीलाई ल्याएपछि हामीले प्रहरी कार्यालयमा छलफल गर्ने भन्दैथियौं, एक्कासी लिम्बुवानले खुकुरी प्रहर गर्यो'-मजदुर पक्षका दिपक थापाले भने। झडपको क्रममा लिम्बुवानका नरेश लिम्बु र राज लिम्बु घाइते भएका छन् भने मजदुरका जनक लिम्बु घाइते भएका छन्। अर्का एक घाइते मजदुरको नाम खुल्न सकेको छैन। झडपकै क्रममा प्रहरी जवान कुसाहाङ राई पनि घाइते भएका छन्। उनलाई कम्मरमा लाठीले प्रहार भएको थियो भने हातमा सामान्य काटिएको छ। प्रत्यक्ष दर्शी प्रहरीका अनुसार लिम्बुवानका युवाहरु हतियार बोकेका थिए भने मजदुरहरुले लाठी र मुंग्रो बोकेका थिए।

No comments: