News

Mar 4, 2010

तसलिमाको निहामा प्रेसमाथि आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेंग्लोर/ भारतको दक्षिणी राज्य कर्नाटकका दुईवटा समाचारपत्रका कार्यालयमा आक्रमण गरिएको छ । बंगलादेशी लेखिका तसलिमा नसरिनका लेख छापेको आरोपमा ती समाचारपत्रका कार्यालयमा आक्रमण गरिएको हो । लेख छापिएपछि भएको प्रहरीसँगको भिडन्तमा दुई मुसलमान प्रदर्शनकारीको मृत्यु भएको छ । ती लेखमा मुसलमानले पर्दा लगाउनुपर्ने चलनलाई चुनौती दिइएको थियो । एक अज्ञात उपद्रवी समूहले लेख छाप्ने प्रभा नामक समाचारपत्रको कार्यालयमा हुलदंगा गरेको प्रहरीले बताएको छ । नसरिनले ती लेख आफूले लेखेको भनाइप्रति प्रतिवाद गरेकी छिन् । उनले आफूले पहिले लेखेका लेखको कन्नड भाषामा अनुदित संस्करण छापेर आफूलाई बद्नाम गर्न खोजिएको आरोप लगाएकी छिन् । उनले लेखेको एक पुस्तकका कारण कट्टरपन्थी मुसलमानहरूले उनलाई मारिदिने धम्की दिएपछि सन् १९९४ मा उनी आफ्नो मुलुक बंगलादेशबाट भागेकी थिइन् । मुसलमानहरूले उनका पुस्तकले उनीहरूको आस्थामाथि प्रहार गरेको बताउँदै आएका छन् । २००८ मा उनी भारत छाडेर स्विडेनतर्फ पलायन भएकी थिइन् । कन्नड भाषाको प्रभा नामक समाचारपत्रमा तसलिमा नसरिनका लेख छापिएपछि राज्यका सिमोगा र हसन क्षेत्रमा विरोध प्रदर्शन भइरहेका छन् । मंगलबार हुल्याहाहरूले सो समाचारपत्रको कार्यालयमाथि आक्रमण गरेका थिए । प्रहरीका अनुसार दसजना मुखुण्डोधारीले बेंग्लोरस्थित समाचारपत्रको कार्यालय परिसरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेका थिए । तर, अग्निसमन कर्मचारीले तत्कालै आगो निभाउँदा कार्यालय बचेको थियो ।

No comments: