News

Mar 13, 2010

भारतीय दूतावासमा सुरक्षा व्यवस्था थप कडा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन २९, भारतले काठमाडौंमा रहेको दूतावासमा सुरक्षा व्यवस्था थप कडा गर्ने प्रक्रिया अगाडि बढाएको छ। जिहादका नाममा काठमाडौंमा हुनसक्ने आक्रमणबाट बच्न सुरक्षा व्यवस्था कडा पार्न लागेको भारतीय मिडियाहरुले जनाएका छन्। भारतले नेपाल र अफगानिस्तानमा सुरक्षा व्यवस्था कडा पार्न लागेको हो। अफगानिस्तानका लागि शनिबार नै एक टोली भारतबाट रवाना भएको छ। भारतीय सुरक्षा एजेन्सीले उपलव्ध गराएको जानकारी अनुसार लस्कर ए तोयवाजस्ता आतंकवादी संगठनले विदेशी भूमिबाट भारतमा आक्रमणको योजना बनाइरहेका छन्। त्यसैले दिल्ली अफगानिस्तान र नेपालको सुरक्षा सुधार योजनामा लागेको हो। आइएसआइले दिएको सुझावका आधारमा यस्तो योजना अघि सारिएको भारतीय मिडियाले जनाएका छन्। सुरक्षा योजना अनुरुप एक महिनाअघिदेखि नै काम सुरु भइसकेको उल्लेख छ। काठमाडौंस्थित भारतीय राजदूतावासको पर्खाल अग्ल्याउने तथा धेरै संख्यामा क्लोज सर्किट क्यामरा सीसीटीभी जडान गरिएको समाचारमा उल्लेख छ। दूतावासभित्र छिर्ने गाडी पनि विद्युतीय वुम व्यारियर पार भएर जानुपर्ने व्यवस्था गरिएको छ। तर, तत्कालै यहाँ परिचालन गरिने सुरक्षाकर्मीको संख्या थप्ने विषयामा भने कुनै निर्णय भइसकेको छैन। आइएसआइले पाकिस्तानमा आधार बनाएका आतंकवादीहरुले नेपाली भूमी प्रयोग गरेर भारतमा आक्रमणको योजना बनाइरहेको जनाउँदै आएको छ। नेपालको राजनीतिक अस्थिरताका कारण यस्ता आतंकवादीहरु सहजै काम गरिरहेको टिप्पणी दी इकोनोमिक टाइम्सले गरेको छ।

No comments: