News

Mar 8, 2010

समायोजन तथा पुनःस्थापना काम एनजीओ कार्यालयबाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको माओवादी लडाकू रेखदेख, समायोजन तथा पुनःस्थापना विशेष समितिको अधिकांश काम भने गैरसरकारी संस्था (एनजीओ) मा हुने गरेको छ। विशेष समितिलाई सहयोग गर्नका लागि प्रमुख तीन पार्टीका तर्फाट सिफारिस भएका विज्ञहरू राखी गठन भएको प्राविधिक समितिको काम बानेश्वरमा रहेको नेपाल इन्स्टिच्युट फर पोलिसी स्टडिज (निप्स) मा हुने गरेको छ।रोचक पक्ष त के छ भने सो गैरसरकारी संस्थाको अध्यक्ष प्रधानमन्त्री नेपालका विदेश मामिला सल्लाहकार राजन भट्टराई रहनुभएको छ र प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारको पद दुरुपयोग गरेर बेलायती सहयोग नियोग (डीएफआईडी) बाट ठूलो रकम एनजीओमा लगिएको छ।प्रधानमन्त्री अध्यक्ष रहेको समितिको काम एनजीओमा हुने गरेकोमा माओवादी पक्षले विशेष समितिको बैठकमा समेत आपत्ति गरिसकेको छ। अर्को रोचक पक्ष के छ भने डीएफआईडीको सहयोग रहेकाले प्राविधिक समितिका कार्ययोजनाहरू विशेष समितिमा भन्दा पहिला बेलायती दूतावासमा पुग्ने गरेका छन्।प्रधानमन्त्री नेपालले विशेष समितिमा ६० दिने कार्ययोजना प्रस्तुत गर्दा माओवादीका तर्फाट प्रतिनिधित्व गर्ने सदस्य जनार्दन शर्माले आफूहरूले सो कार्ययोजना हेरिसकेको जानकारी दिँदा प्रधानमन्त्री आर्श्चर्य चकित हुनुभएको थियो। यो कार्ययोजना कसरी तपाईंले हेर्नुभयो, भर्खरै प्रिन्ट गरेर ल्याएको छु भनी प्रधानमन्त्री नेपालले भन्दा माओवादी नेता शर्माले सो कार्ययोजना एनजीओमा हेरिसकेको जानकारी दिनुभयो।

No comments: