News

Aug 15, 2009

खोल्ने काम शुरु पूर्वमा पहिरोले थुनेको खोला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाण्डूबाट गएको प्राविधिकहरुको टोलीले पूर्वी नेपालको ईलाम जिल्लाको दक्षिणी भेगमा पहिरोले थुनिएको एउटा खोला खोल्न शुरु गरेपछि त्यहाँका बासिन्दालाई केही राहत भएको छ। ईलामको विकट गाविसहरु बाँझो र चुलाचुली बीचमा पर्ने सिंधुवा खोलालाई पहिरोले छेकिदिएपछि सो खोलाको पानी पाँच किलोमिटरसम्म फैलिएको थियो। सिंधुवा खोलाको पानी झापाको दमक नगरपालिका र लखनपुर गाविस बीचबाट बग्ने रतुवा खोलामा मिसिने हुँदा रतुवा खोला आसपासका बासिन्दाहरुलाई स्थानीय प्रशासनले डुबानको खतराबारे एफएम रेडियो तथा माइकिङ गरेर सतर्क गराएको थियो। तर लगातार वर्षा भइरहेका कारण रतुवा आसपासमा बसोबास गर्नेहरुलाई अझैपनि बाढीको जोखिम रहेको प्रशासनले जनाएको छ।
पहिरोले छेकिदिएपछि खोलामा पानी जमेर कतिखेर फुट्ने हो भन्ने डरले सर्वसाधारण त्राही-त्राही बनेका थिए। काठमाण्डूबाट आएका जल उत्पन्न प्रकोप नियन्त्रण विभागका प्राविधिकहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोला खोल्ने काम शनिवार अपरान्ह दुई बजेदेखि शुरु गरेका थिए। खोला थुनिएको ठाउँमा पुगेका चुलाचुली गाविसका पूर्व अध्यक्ष ओमनारायण खनालले भने, "काठमाण्डूबाट प्राविधिकहरु आएर थुनिएको बाँध खोल्न थालिसके। अब बाढी र डुबानको जोखिम कम हुन्छ होला।” शुक्रवार राती प्रशासन, राजनीतिक दलका स्थानीय नेता तथा संचारकर्मीहरुको दमकमा बसेको बैठकले रतुवा खोलाको बाँध फुटेमा वरपरका दमक नगरपालिका, लखनपुर गाविसदेखि कोहवरासम्म प्रभावित हुन सक्ने भन्दै सो क्षेत्रलाई उच्च जोखिमको संज्ञा दिइ आपतकालिन स्थितिको घोषणा गरेको थियो। नेपाली सेनालाई पनि उच्च सतर्कतामा राखिएको थियो ।दमक नगरपालिका र लखनपुर गाविसबीचबाट बग्ने रतुवा खोलामा सिंधुवा खोलाको पानी मिसिने भएकाले जमेको पानी एकै चोटी रतुवा खोलामा बग्ने डर हुँदा रतुवा नजिकका दमक नगरपालिका र भूटानी शरणार्थी शिविर बेलडाँगी अझैपनि बाढीको जोखिममा रहेका छन्। झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोख्रेलले भने, "रतुवा खोला आसपासमा बसोबास गर्नेहरुका लागि अझैपनि जोखिम टरेको छैन। खोलाको पानी पूर्ण रुपमा नघटुन्जेल के हुन्छ भन्न सकिंदैन।" खोलालाई पहिरोले ढाकिदिएपछि पाँच किलोमिटरसम्म खोलाको पानी जमेका कारण त्यसको गहिराई करीब ५० फिट बनेको स्थानीयबासीको भनाइ छ। खोलाले बगाउने डरले रतुवा खोला आसपासका बासिन्दाहरू रातभर जाग्राम बसेका थिए।

No comments: