News

Aug 17, 2009

५० वर्ष पछि स्वीस राजदूताबास सुरु नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १ नेपालको ५० वर्ष लामो विकास साझेदार स्वीटजरल्याण्डले सोमबारदेखि यहाँ राजदूताबास सुरु गरेको छ। स्वीस विकास नियोग (एसडीसी)ले काठमाडौंबाट विकास गतिविधिमा मात्र सहयोग पुर्‍याउँदै आएको हो। यस वर्षको प्रारम्भदेखि स्वीस भिसा काठमाडौंबाट जारी हुन थालेको हो। प्रधानमन्त्री माधवकुमार नेपालले एकान्तकुनामा आयोजित समारोहमा स्वीस राजदूताबासको उद्घाटन गर्दै नेपालको विकासको एउटा महत्वपूर्ण सहयोगीका रुपमा चित्रण गरे। उनले भने, 'स्वीस हाम्रा लागि प्रेरणाको उदाहरणीय स्रोत रहँदै आएको छ। उनले नेपालको विकासका तीन स्तम्भहरू- सहकारी, सार्वजनिक र निजीबीचको साझेदारी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विकासका निम्ति मित्र मुलुकहरूको सहयोग अपरिहार्य रहेको बताए। त्यस्तै परराष्ट्रमन्त्री सुजाता कोइरालाले राजदूताबासको उद्घाटनले दुई देशबीचको सम्बन्धलाई थप बल पुग्ने बताइन्। नेपालका लागि स्वीस राजदूत थोमस गासले राजदूताबास भनेको दुई देश र जनताबीचको मित्रताको दरिलो हात भएको दृष्टान्त दिंदै यो पावन अवसरमा धेरै पहल र ज्यादै महत्वपूर्ण थालनीहरू हुन लागेको बताए। 'नवागन्तुक राजदूतले यस्तो अवसरमा केही भन्नु भन्दा पनि यहाँ उपस्थित स्वीसका मित्रहरूलाई देखेर म कति धेरै खुशी भएको छु भने तपाईंहरूलाई भेट्न, सहकार्य, सहयोग र जानकारी प्राप्त गर्न निर्भर हुनेछु', राजदूत गासले भने।स्वीस विकास तथा सहयोग नियोगका महानिर्देशक मार्टिन डाहिन्डेनले आजको दिन नेपाल-स्वीस साझेदारीको कोसेढुंगा भएको बताउँदै भने, 'आजको दिनले स्वीस सरकारको नेपालप्रतिको प्रतिबद्धतालाई पुनर्पुष्टि र थप सुदृढ तुल्याएको छ।'त्यस अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन शान्ति वार्ताकालका सहजकर्ता दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले 'पिस प्रोसेस एन्ड फेडरलिजम इन नेपाल' (शान्ति प्रक्रिया र नेपालमा संघीयता) विषयक पुस्तकको विमोचन गरे। 'विविध कारणले हाम्रो शान्ति प्रक्रिया संकटमा परेको छ', ढुंगानाले भने। उनले शान्ति प्रक्रियाको अनुगमन गर्ने र नेताहरूबीच छलफल गर्ने साझा संयन्त्र नभएकोप्रति पनि उनले ध्यानकर्षण गराए।उद्घाटन कार्यक्रम सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक मार्टिन डाहिन्डेनले नेपाललाई जारी रहने सहयोग तथा कार्यक्रममा लोकतान्त्रिक संस्थाहरूको निर्माण र सर्वसाधारणको आय आर्जनका निम्ति पहुँचका लागि क्रियाशील रहने जानकारी दिए। राजदूताबास उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको समेत उपस्थिति थियो।विकासका ५० वर्षको अवसर पारेर महानिर्देशक डाहिन्डेनको नेतृत्वमा आएको स्वीस प्रतिनिधिमण्डले विकास कार्यक्रमको अवलोकनका साथै राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ।

No comments: