लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ३१- उपराष्ट्रपति परमानन्द झाले फेरि सपथ लिने/नलिनेबारे जवाफ माग गरी सर्वोच्च अदालतबाट पठाइएको म्याद शुक्रबार बुझेका छन्।सर्वोच्च अदालतको पूर्ण इजलासले पठाएको म्याद उपराष्ट्रपति झा, राष्ट्रपतिको कार्यालय र मन्त्रिपरिषद् कार्यालयले समेतले बुझेका हुन्। न्यायाधीशहरू तपबहादुर मगर, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, प्रेम शर्मा र भरतराज उप्रेतीको पूर्ण इजलासले सात दिनभित्र जवाफ दिन बुधबार आदेश दिएको थियो।'इजलासको आदेशबमोजिम सबै निकायलाई शुक्रबार म्याद बुझाइयो,' सर्वोच्चका एक कर्मचारीले भने। सबै निकायको जवाफ आएपछि अदालतले भदौ ७ मा सुनुवाइ गरी उपराष्ट्रपतिलाई काम गर्नबाट तत्काल रोक्न अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने छ।उपराष्ट्रपति झासँग नेपाली भाषामा पुनः सपथ नलिने भए त्यसैबमोजिम लिखित जवाफ माग गरेको थियो। इजलासले सरकारसँग भने पुनः सपथग्रहणको कार्यक्रम तर्जुमा भए/नभएबारे जानकारी पठाउन आदेश दिएको थियो। यसबारे जानकारी नभएसम्म अन्तरिम आदेशको निर्णय गर्न बाधा हुने भनी इजलासले जवाफ माग गरेको हो।नेपाली भाषामा सपथ नलिई पदभार ग्रहण गर्न नमिल्ने भएकाले उपराष्ट्रपति पदबाट हटाउन माग गर्दै नवराज न्यौपाने र विष्णुप्रसाद बाँस्तोलाले मंगलबार संयुक्त रूपमा रिट दिएका थिए। सर्वोच्च अदालतले उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको सपथ गैरसंवैधानिक भएको निर्णय गर्दै गत साउन ९ गते बदर गरेको थियो।
No comments:
Post a Comment