लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, २२ कात्तिक,श्रीमान्को यातना सहन नसकी घर छोडेर हिँडेकी नेपाली महिलाको तीन महिनापछि भारतको दिल्लीबाट उद्धार गरिएको छ । श्रीमान्सँगै भारतको देहरादुन बस्दै आएकी भीमदत्त नगरपालिका-९ कञ्चनपुरकी तारा औजी श्रीमान्ले कुटपिट गरेपछि गत साउनको अन्त्यमा घर छोडेर हिँडेकी थिइन् ।दिल्लीको जिबीरोडमा रोइरहेको अवस्थामा तारालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर दिल्लीको नारी निकेतन (अल्पआवास) को जिम्मा लगाएको हो । तारालाई अल्पआवासाबाट माइती इन्डियाले उद्धार गरेर घर फर्काएको छ । उनलाई माइती इन्डिया इन्चार्ज इन्दिरा पाण्डेय र हरिकला पुनले आइतबार महेन्द्रनगर ल्याएका हुन् । तारा महेन्द्रनगर आएलगत्तै उनका आफन्त माइती नेपालको कार्यालयमा पुगेका थिए । तारालाई आइतबार नै आफन्तको जिम्मा लगाएको छ । देहरादुनमा रहेका उनका श्रीमान् प्रेमले माइतीको जिम्मा लगाइदिनुस् भनेकाले माइतीको जिम्मा लगाएको माइती नेपाल कञ्चनपुर प्रमुख रीता भट्टराईले बताइन् । तारालाई काका मनोज औजीको जिम्मा लगाइएको छ । तारा हराएको केही दिनपछि ४ भदौमा गड्डाचौकी नाकामा रहेको माइती नेपालको पोस्टमा नेपाली युवती देहरादुनमा हराइन् भनेर खोजीका लागि निवेदन दर्ता गरिएको थियो ।माइती नेपाल कञ्चनपुरको कार्यालयमा आफन्तलाई भेट्दा दुई छोराकी आमा ताराले धरधरी आँसु झारिन् । उनले भनिन्, 'उहाँ (प्रेम) ले कुट्नुभयो । बस्नै नसकेपछि घरबाट हिँडिदिएँ, देहरादुनमा श्रीमान्सँग भएको झगडा सम्झिँदै ताराले भनिन्, 'रिसको झोकमा घरबाहिर निस्केको त हराएछु, दिल्ली पुगेको पत्तै भएन ।'यसैबीच सातमहिने बच्चासहित दिल्लीमा अलपत्र परेकी मीना थापा (३१) लाई पनि माइती इन्डियाले उद्धार गरेर महेन्द्रनगर ल्याएको छ । नवलपरासीको सुनवल-७ अर्चैनयाकी मीना सात महिनाअघि रक्सौल हुँदै भारतको दिल्ली पुगेकी थिइन् । सातमहिने बच्चासहित दिल्लीमा अलपत्र परेकी मीनालाई निकेतनको सहयोगमा माइती इन्डियाले उद्धार गरेर आइतबार नै महेन्द्रनगर ल्याएको हो । उनको परिवारसँग सम्पर्क गर्न कोसिस गरिरहेको माइती नेपाल कञ्चनपुर प्रमुख भट्टराईले बताइन् । सात महिनाकी छोरीसहित मीना माइती नेपाल कञ्चपनुरको आवधिक गृहमा छन् ।
No comments:
Post a Comment