News

Nov 16, 2009

बोक्सीको आरोपमा नांगेझार बनाएर महिलाले महिलालाई नै कुटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सल्यान, २९ कात्तिक,महिलाले समूह बनाएर एउटी महिलालाई नै कुटे त्यो पनि नांगेझार बनाएर । बोक्सीको आरोपमा कुटिएकी सल्यानकी महिला आफ्नै दिदी-बहिनीको ज्यादतीविरुद्ध न्याय माग्दै जिल्ला प्रहरी कार्यालय, सल्यान आइपुगेकी छिन् । स्थानिखाल—५ सल्यानचौरकी ४० वर्षीया बासमती बुढालाई पाँचजना महिलाको समूहले बोक्सी भन्दै यातना दिएको हो । बासमतीले बोक्सी लगाएर गाउँका बालबालिकाको ज्यान लिने गरेको उनीहरूको आरोप छ ।पीडित बासमतीले नयाँ पत्रिकासँग भनिन्, 'बालबालिकालाई बोक्सी लगाएर मारेको भन्दै महिलाले मेरो शरीरका सबै कपडा फुकालेर कुटपिट गरे ।' पाँचजनाले नांगै बनाएर आफ्नो कपडा रूखको हाँगामा झुन्ड्याइदिएको उनले बताइन् । शनिबार दिउँसो महिलाको सो समूहले घरबाटै उनलाई समातेर लगेर बेइज्जत गरेको थियो । 'यो नमरेसम्म गाउँका बालबालिका बिरामी पर्न छाड्दैनन् भन्दै कुटे,' बुढाले भनिन् । गाउँका महिलाले सार्वजनिक स्थानमा कुटपिट गर्दासमेत आफूलाई बचाउन कोही नआएको उनले बताइन् । 'कुटाइ खाँदै गर्दा बेहोस भएछु, अस्पताल पुगेपछि मात्र होस खुल्यो,' उनले भनिन् । उनी महिलाको कुटाइबाट चार घन्टा बेहोस भएकी थिइन् । भगवती प्राथमिक विद्यालयका शिक्षक निमबहादुर बस्नेतकी छोरी चित्रा, गाउँका महिला कमला बस्नेत, निमी बुढा र स्वास्थ्यचौकी स्थानिखालमा कार्यरत नरबहादुर बुढाकी बुहारीले ती महिलालाई बोक्सी भन्दै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ । बासमती बुढाले शेरबहादुर बुढाकी आठ वर्षीया छोरी गौरी बुढालाई बोक्सी लगाई बिरामी पारेको आरोपमा नांगै बनाई कुटपिट गरेको पीडितका परिवारजनले बताएका छन् । घरमा कोही नभएको मौकामा उनलाई घरबाट निकाली सार्वजनिक रूपमा नांगै बनाएर कुटपिट गरी बेहोस अवस्थामा गाउँका बीचमा महिलाले छोडेको बासमतीका श्रीमान् बेलबहादुरले बताए । कुटपिट गरेको खबर पाउनासाथ जंगलमा काम गर्न गएका बेलबहादुर र्फकेपछि रगतमा डुबेकी श्रीमतीलाई फेला पारेको बताए । घाइते अवस्थाकी श्रीमतीलाई उनले कपडा लगाई बेहोस अवस्थामै श्रीनगरस्थित कान्तिपुर मेडिकलमा पुर्‍याएका थिए । महिलाहरूको कुटाइबाट उनको मुहारमा मात्र पाँच टाँका लागेको मेडिकलले जनाएको छ । उनको शरीरभरि नीलडाम रहेका छन् । आफूलाई अन्याय परेको भन्दै शनिबार नै उनका श्रीमान्ले न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय, श्रीनगरमा उजुरी दर्ता गराएका छन् । उजुरी प्रहरीसमक्ष पुगे पनि उनीहरूलाई हालसम्म प्रहरीले पक्राउ भने गरेको छैन ।

No comments: