लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(सुर्खेत) मध्यपश्चिमको अतिविकट हिमाली जिल्ला हुम्लाको रुडीकोटमा कार्गोवाहक होलिकोप्टर आइतबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुर्खेतबाट हुम्ला रुडीकोटका लागि गएको मनाङ एयरको एमआई १७-९ एमएचटी हेलिकोप्टर हेलिप्याडमा ल्यान्डिङ गर्न खोज्दा दुर्घटनामा परेको हो। त्यस क्रममा होलिकोप्टरका चालक रूसी नागरिक सर्गेइको मृत्यु भएको छ। चालक दलका ४ सदस्यसहित ६ जना हेलिकोप्टरमा सवार थिए। सो हेलिकोप्टर रुडीकोट खानेपानी योजनाको पाइप र सिमेन्टलगायतका सामान बोकेर बिहान मात्र सुर्खेतबाट त्यसतर्फगएको थियो। बिहान ११:३० बजे हेलिकोप्टरको पछाडिको भागमा प्राविधिक खराबी आएपछि एक्कासि दुर्घटनामा परेको चालक दललाई उद्धृत गर्दै क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।दुर्घटनामा घाइते अर्का चालक रूसी नागरिक डेल्टा सेटालोभ र क्याप्टेन राजु भण्डारीको अवस्था गम्भीर रहेको छ भने सहायक चालक विष्णुसुन्दर अमात्य, यात्रु लोकबहादुर ऐडी र विष्णुकुमार चौधरी खतरामुक्त रहेका छन्। उनीहरूलाई सुर्खेतमा प्राथमिक उपचारपछि अपराहन सीता एयरबाट काठमाडौं पुर्याइएको छ।उडेको एक घण्टापछि बिहान साढे ११ बजेतिर अवतरण गर्ने क्रममा सो हेलिकोप्टर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय सुर्खेतका प्रमुख उत्सवराज खरेलले बताउनुभयो। घटनास्थल सदरमुकाम सिमीकोटदेखि २४ कोस दक्षिणमा रहेको छ। दुर्घटनाग्रस्त हेलिकोप्टरका भागहरू टाढाटाढासम्म उछुट्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाको वास्तविक कारण थाहा हुन नसके पनि हेलिकोप्टरको पंखा जमिनमा ठोक्किएपछि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको नेपाल नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ। (हुम्लाबाट रमेश ऐडी तथा नेपालगन्जबाट झलक गैरे र कुमार श्रेष्ठको समेत सहयोगमा)
No comments:
Post a Comment