News

Nov 13, 2009

माओवादीले सरकारलाई मङ्सिर ५ गतेसम्मको अल्टिमेटम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक २७ माओवादी अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चता कायम गर्न सरकारलाई मङ्सिर ५ गतेसम्मको अल्टिमेटम दिएका छन् । उनले नत्र तेस्रो चरणको आन्दोलन योभन्दा आक्रामक र व्यापक हुने तथा त्यसले दलहरुका धृष्टता समाप्त पार्ने चेतावनी पनि दिए। वर्तमान सरकारले माओवादी जङ्गल पसोस् र आफूहरु लुटेर खान पाइयोस् भन्ने चाहना राखेको बताएका छन्। यो सरकारलाई जनसमर्थन नभएको र जनताले साह्रै घृणा गर्न थालेको दाबी पनि उनले गरे । र, भने- उनीहरु जे चाहन्छन्, हामी त्यसको विपरित गर्छौं। माओवादीले थालेको लडाइ क्रान्ति, नयाँ संविधान र परिवर्तनका विरोधीविरुद्धको भएको पनि उनले बताए। माओवादीले लडाकुलाई बाहिर निकालोस् र त्यही बहानामा वितण्डा मच्चाउन सकियोस् भनेर शासकहरुले चाहेको तर आफूहरु नयाँ ढङ्गको आन्दोलनमा उत्रेको पनि उनले बताए। भृकुटीमण्डपमा भइरहेको माओवादी सभामा बोल्दै उनले यो लडाइमा माओवादी नहार्ने तर शासकहरु भाग्ने पनि दाबी गरे । कूटनीतिज्ञहरुले आफूलाई यत्रो मान्छे उतारेर पनि शान्तिपूर्ण आन्दोलन गरेकामा बधाइ दिएको पनि उनले सुनाए।संविधानसभा विघटन गर्ने षडयन्त्र भइरहेको दाबी पनि उनले गरे । 'यो लडाइ हामीले जितेनौं भने स‌ं‌विधानसभा विघटन हुन्छ', उनले भने- हामी कुनै पनि हालतमा सम्झौता गर्ने छैनौं। सेना लगाएर माओवादीलाई दमन गर्ने सपना देख्नेलाई अझै पनि समय छ, शिक्षा लेउ भन्दै उनले चेतावनी दिए- अहिले सिंहदरबारमा जानेहरु कसरी त्यहाँ पुगे भन्ने सबैलाई थाहा छ, उनीहरु त्यहाँ पुग्नु मुलुकको बेइज्जति हो। यो राष्ट्रिय स्वाधीनताको लडाइ भएकाले हामीले जित्नैपर्छ, हामीले जितेनौं भने देश ठूलो दुर्भाग्यमा पर्छ।अहिले सङ्घीयताविरुद्ध पनि षडयन्त्र भइरहेको बताउँदै उनले माओवादीले आन्दोलन छाड्छ कि भन्ने भ्रम छाड्न पनि सबैलाई आग्रह गरे । छिमेकीसँग राम्रो सम्बन्ध चाहने बताउँदै उनले राणाकाल र राजतन्त्रकालमा भएका सन्धिलाई माओवादीले मान्यता नदिने पनि उल्लेख गरे । यो आन्दोलनले प्रतिक्रियावादीहरुको सात्तो गइसकेको भन्दै दाहालले भने- हामी कुनै हालतमा सम्झौता गर्दैनौं, सिंहदरबार र बालुवाटारमा बस्नेहरुले सुने हुन्छ। जनताले बनाएका भए सरकारमा बस्नेहरुले राजिनामा दिन्थे भन्दै उनले थपे- उताबाट रिमोटको स्वीच नथिचेसम्म वा नेपाली जनताले नलत्याएसम्म उनीहरु छाड्दैनन्। इतिहासबाट शिक्षा लिन पनि उनले दलहरुलाई सुझाए।

No comments: