लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/हङकङ
कार्तिक २२ , युवाहरुबीच लोकप्रिय मिस्टर हङकङ नेपाल शारीरिक सुगठन प्रतियोगिताको रौंनक सुरु भएको छ । सन् १९९८ मा पहिलोपटक आयोजित उक्त प्रतियोगिताको यो सातौ संस्करण हो । फ्रि वेटका आधारमा हुने प्रतिस्पर्धामा यसपटक तेह्र प्रतिस्पर्धी छन् । गतबर्षका विजेता लोकेन्द्र परियार र उपविजेता शम्भु तामाङ यस बर्षपनि प्रतिस्पर्धामा भिड्दैछन । प्रतियोगिहरुलाई प्रशिक्षण दिन दुईपटकका धर्मश्री विजेता मिस्टर नेपाल सानु गुरुङ दुईहप्ता अघि नै नेपालबाट यहाँ आईपुगेका हुन । प्रतियोगिता नजिकिदै जाँदा सानुले दिनमा करिब छ घण्टा विभिन्न पोजिङ र अभ्यासका बेला खानुपर्ने खानाका बारे जानकारी दिइरहेका छन् । 'भनेजस्ता सुविधा र न्यूटि्रसन सजिलै पाईने यहाँ समय पनि दिनसके राम्रो गर्न सक्ने धेरै सम्भावना छ, ' गुरुङले भने, 'यहाँ राम्रा खेलाडीको कमी रहेनछ ।'जोर्डनस्थित पावर जिममा भेटिएका पछिल्ला विजेता लोकेन्द्र परियार यसपटक पनि उपाधि जित्नेमा विश्वस्त देखिए । 'सँाझविहानै कडा प्रशिक्षणमा छु,' परियारले भने, 'पहिलाको अनुभवले समेत यसपटक उपाधि जित्नेमा अझ विश्वस्त छु ।' गतबर्षका उपविजेता शम्भु तामाङ पनि परियार जत्तिकै आत्मविश्वासी देखिन्छन् । 'अघिल्लो बर्ष भनेजति समय दिन सकिएन तर यसपटक भने धेरै अघिदेखि तयारीमा छु,' तामाङले भने, 'शिर्ष उपाधि नै जित्ने विश्वासमा भिड्दैछु । ' शम्भु २००६ का विजेता हुन ।विजेताले पाउने नगद पुरस्कार अहिलेसम्मकै बढी भएकाले समेत थप चर्चा पाएको छ । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः दश हजार, सात हजार पाच सय र पाच हजार हङकङ डलर सहित ट्रफी पाउने छन् । यसबाहेक प्रतियोगितामा बेष्ट पोजको उपाधि समेत रहेको छ । उक्त उपाधि विजेताले दुई हजार हङकङ डलर पाउने छ । 'परदेशमै रहेपनि शारीरिक सुगठनमा रुचि भएकाहरुलाई अगाडि बढ्न प्रोत्साहन दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरेका हौं ।,' आयोजक हङकङ नेपाल बडी बिल्डिङ एसोसिएसनका अध्यक्ष मेख गुरुङले भने । प्रतियोगिता आगामी आईतबारका साँझ याउ मा तेइस्थित हेनरी जी ल्योङ हलमा हुनेछ ।
No comments:
Post a Comment