News

Nov 13, 2009

जागिर दिन नमानेपछि शिक्षामन्त्रीले रिसाउँदै पत्र लेखे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ कात्तिक,'आफ्ना मान्छे' लाई जागिर दिन नमानेपछि त्रिवि उपकुलपतिसँग शिक्षामन्त्री रामचन्द्र कुशवाह रिसाएका छन् ।जागिर दिन नमान्ने उपकुलपतिलाई मन्त्री कुशवाहले निर्देशनसहितको पत्र पठाएका छन् । 'त्रिवि नेपाल सरकारको आर्थिक अनुदानमा सञ्चालित एक स्वायत्त संस्था भएकाले निश्चित रूपले नेपाल सरकारले अंगीकार गरेको सैद्धान्तिक नीति त्रिविले पनि अंगीकार गरी तदनुरूप कामकारबाही गरेको हुनुपर्नेमा सोअनुरूप कामकारबाही भए-गरेको नबुझिएको र यससम्बन्धी प्रशस्त गुनासा सुनिन थालेकाले यसतर्फ त्रिविको ध्यानाकर्षण हुन बान्छनीयदेखि यो पत्रमार्फत तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु,' मन्त्रीले लेखेको पत्रमा उल्लेख छ ।त्रिविका उपकुलपति प्रा.डा. माधवप्रसाद शर्माले भने शिक्षामन्त्रीले निर्देशन दिनसक्ने, तर विश्वविद्यालयले नीतिनियमविपरीतका कुरा मान्नैपर्ने अवस्था नरहेको बताए । 'ऐनमा शिक्षामन्त्रीले निर्देशन दिनसक्ने व्यवस्था छ, तर मान्नैपर्छ भन्ने छैन,' उपकुलपति शर्माले नयाँ पत्रिकासँग भने, 'सहकुलपतिसँग विश्वविद्यालयको खासै सम्बन्ध रहँदैन । दीक्षान्त र सभाबाहेक अरू कार्यक्रममा खासै भूमिका रहँदैन ।'उनले मन्त्रीले त्रिविको स्वायत्त अधिकारमाथि हस्तक्षेप गर्न खोजेको आरोपसमेत लगाए ।केही मान्छे शिक्षामन्त्रीको नाम लिएर जागिर माग्न आएको, तर आफूले योग्यताका आधारमा कर्मचारी राख्ने भनेर फर्काइदिएको उनले जानकारी दिए । शर्माले भने, 'मन्त्रीमार्फत आएकाहरूले तराई-मधेसका मान्छेलाई काम चाहियो भने, हामी प्रतिस्पर्धा र योग्यताका आधारमा नियुक्त गर्छौँ, त्यसै भर्ना गर्न सक्दैनौँ भनेर फर्काइदिएँ ।'शिक्षामन्त्रीले उपकुलपतिलाई निर्देशन दिँदै पत्रमा लेखेका छन्, 'त्रिविमा पदाधिकारी, कार्यकारी प्रमुखजस्ता पद र शिक्षक/कर्मचारीको अस्थायी करार र नियुक्ति समावेशी र समानुपातिक सिद्धान्त र नीतिअनुरूप हुनेगरी तत्सम्बन्धी कामकारबाही गर्न-गराउन त्रिविको सहकुलपतिको हैसियतले निर्देशन दिएको छु ।' उपकुलपति शर्माले मन्त्रीको निर्देशन मान्नैपर्ने बाध्यता त्रिविलाई नभएको समेत स्पष्ट गरे । शर्माले भने, 'त्रिविको नियम समावेशी बनाउँदै छौँ, अहिले योग्यता नभईकन कसैलाई राख्न मिल्दैन ।'शर्माका अनुसार शिक्षामन्त्री कुशवाहले उनलाई केही दिनअघि फोन गरेका थिए, तर जागिरबारे स्पष्ट कुरा राखेका थिएनन् । 'उहाँको चित्तदुखाइ के हो, स्पष्ट भन्नुभएको छैन,' शर्माले भने, 'केही दिनअघि फोन गरेर आंशिक शिक्षकका विषयमा कुरा गर्नुभएको थियो, मैले उहाँलाई नीतिनियमअनुसार काम हुन्छ, नियमले दिएको अधिकारबाहिर जान सक्दैनौँ, त्रिवि सेवा आयोगबाट नियुक्त गर्न सक्छौँ भन्ने जवाफ दिएको थिएँ । उहाँले 'ए...' भनेर फोन राख्नुभएको थियो ।'मन्त्री कुशवाहले भने त्रिभुवन विश्वविद्यालयमा समावेशी नभएकाले आफूले निर्देशनपत्र पठाएको बताए । उनले नयाँ पत्रिकासँग भने, 'समावेशी भएन भनेर मलाई एउटा रिपोर्ट आएको थियो, त्यसैका आधारमा समावेशी बनाउन निर्देशन दिएको हुँ ।' मन्त्री कुशवाहले त्रिविमा आफ्ना मान्छेलाई जागिर खुवाउन नपठाएको दाबीसमेत गरे । मन्त्रालयले दिएको निर्देशन त्रिविले मान्नै पर्ने मन्त्री कुशवाहको दाबी थियो ।

No comments: