News

Mar 3, 2010

असुरक्षाले देश छाड्दै नेपालगन्जका व्यवसायी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ फागुन,फिरौती बुझाइसक्दा पनि अपहरित छोरा फिर्ता पाउन नसकेर हतास बनेका नेपालगन्जका व्यवसायी कृष्णमुरारी रस्तोगी अन्ततः देश छाडी भारत पलायन भएका छन् । आठ महिनाअघि अपहरित छोराको रिहाइका लागि उनले सात लाख रुपैयाँ फिरौती बुझाएका थिए । नेपालमा सुरक्षा ग्यारेन्टी नभएको महसुस गरी रस्तोगीले सपरिवार विदेशिने निर्णय गरेका हुन् । उनले नेपालगन्जको कपडा पसल बेचिसकेका छन् भने जग्गा बिक्रीका लागि सूचना प्रकाशित गरेका छन् । 'देशको माया छ, तर यहाँ बस्नसक्ने अवस्था रहेन,' रस्तोगीले भने, 'आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हो भने जहाँ बसे पनि भयो ।'नेपालगन्ज, त्रिभुवनचोकनिवासी रस्तोगीका एक मात्र छोरा गौरवकृष्ण गत असार ७ गते अज्ञात व्यक्तिहरूको अपहरणमा परेका थिए । अपहरणकारीको मागबमोजिम उनले सात लाख रुपैयाँ फिरौती बुझाए, तर रिहाइ त परै जावस् छोराको अवस्थासम्म थाहा पाउन सकेनन् । छोराको खोजीका लागि सबैतिर धाए पनि कसैले गम्भीर चासो नदिएको उनको गुनासो छ । रस्तोगीले गृहमन्त्री भीम रावल, उपप्रधानमन्त्री विजय गच्छदार, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, कांग्रेसकै कार्यवाहक सभापति सुशील कोइराला, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्त ठाकुरलगायत नेता तथा मानवअधिकारवादीलाई भेटेका थिए । तर, सबैबाट आश्वासनबाहेक केही नपाएको उनले बताए । त्यति मात्रै होइन, उनले छोराको अवस्था थाहा पाउनेलाई २ लाख इनाम दिने घोषणा गर्दै ६ महिनासम्म स्थानीय पत्रपत्रिकामा विज्ञापनसमेत दिएका थिए । तर, त्यसबाट पनि केही सफलता मिलेन । 'अब केही उपाय रहेन,' उनले निराशापूर्वक भने, 'यहाँ बसेर थप दुःख झेल्न चाहन्नँ ।' रस्तोगीले नेपालमा कुनै पनि व्यवसायीको सुरक्षा नभएको समेत ठोकुवा गरे । प्रहरीको निस्क्रियताका कारण अपराधिहरू फरार हुन सफल भएको उनको भनाइ छ ।

No comments: