News

Mar 1, 2010

माग पूरा नभए प्याब्सनले आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष भोजबहादुर शाहले प्याब्सनले सरकारसमक्ष राखेको ११ बुँदे मागका बारेमा सम्बोधन नगरे महाधिवेशनबाटै आन्दोलन घोषणा गरिने बताउनुभएको छ। प्याब्सनको दसौं महाधिवेशन तयारीका बारेमा जानकारी दिन सोमबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो विचार व्यक्त गर्नुभएको हो। प्याब्सनले निजी विद्यालयमाथि सरकारले गरेको भेदभावपूर्ण व्यवहारप्रति खेद प्रकट गर्दै प्याब्सनले फागुन महिनामा प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुखलगायत सरकारमा सहभागी मुख्य सबै दललाई १५ दिने अल्टिमेटमसहित ११ बुँदे मागपत्र पेस गरेको थियो।सरकारले लागू गरेको १ प्रतिशत कर खारेज गरिनुपर्ने, निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने, निजी विद्यालय ऐन बनाउनुलगायत मागपत्र पेस गरेको छ। पत्रकार सम्मेलनमा यही फागुन २१ देखि २३ गतेसम्म भैरहवामा आयोजना हुने दसौं अधिवेशनमा ६४ वटा जिल्लाका एक हजार प्रतिनिधि सहभागी हुने जानकारी गराइयो।प्याब्सनअर्न्तर्गत हाल १० हजार विद्यालय संगठित रहेका छन्। ५ हजार ५ सय सदस्य रहेको प्याब्सनको महाधिवेशनको समुद्घाटन सभामुख सुभासचन्द्र नेम्वाङले गर्नुहुने भएको छ। अधिवेशनमा शिक्षा शुल्क, शिक्षा ऐन तथा नियमावली, छात्रवृत्ति, शिक्षकर्-कर्मचारीको नियुक्ति तथा सेवासुविधा, अध्यापन अनुमति पत्र, विद्यालय क्षेत्र सुधार कार्यक्रम र एसएसआरपी, प्याब्सन विधानलगायत विषयमा बृहत् छलफल गरिने अध्यक्ष शाहले बताउनुभयो।भैरहवाको गणतान्त्रिक सभाहलमा शुरू हुने तीनदिने अधिवेशनले ३८ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने भएको छ। पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन महासचिव टीआर ढकालले महाधिवेशनले ‘भैरहवा घोषणापत्र’ समेत जारी गर्ने बताउनुभयो।

No comments: