लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १९,राष्ट्र बैंकले ह्यान्डक्यारी (हातेझोला) मार्फत आयात भइरहेको सुन आयातमा रोक लगाएको छ । मंगलबार बैंकहरूलाई मौखिक रूपमा ह्यान्डक्यारीमार्फत सुन ल्याउनका लागि आयातकर्तालाई टिटी ड्राफ्ट नदिन राष्ट्र बैंकले अनरोध गरेको हो । संसदको हिउँदे अधिवेशनमा सुनको भन्सार बढाउने तयारी गरिरहेकाले त्यस बेलासम्मका लागि आयात रोकिएको हो । तर अहिलेसम्म अधिवेशनको मिति निश्चित भएको छैन । सुनलगायत केही विलासी वस्तुको आयात बढेर शोधान्तर घाटा २० अर्ब नाघेपछि आयातमा भन्सार बढाउन सरकारलाई दबाब परेको हो । त्यसरी आएको सुन पनि अवैध रूपमा भारत जाने त्यसबापतको रकम बैंकिङ संयन्त्रमा कम मात्र आउँदा थप समस्या परिरहेको छ ।'मंगलबार ह्यान्डक्यारीमार्फत सुन आयात गरिरहेको आयातकर्ताका लागि टिटी ड्राफ्ट नबनाउन राष्ट्र बैंकबाट मौखिक अनुरोध भएको छ,' बैंकर संघका अध्यक्ष ससिन जोशीले भने, 'यसपछि ह्यान्डक्यारीमार्फत सुन ल्याउन टिटी ड्राफ्ट बनाइदिने काम मंगलबारदेखि नै रोकिएको छ ।' गत साता भारतले सुनको भन्सार बढाएर प्रतिदस ग्राममा ४ सय ८० रुपैयाँ -३ सय भारु) पुर्याएपछि भारतीय बजारमा ह्यान्डक्यारीमार्फत आएको सुन जाने सम्भावना बढेको भन्दै बैंकले यसमा पनि रोक लगाएको हो । यो वृद्धिपछि नेपाल र भारतबीच सुनको मूल्य अन्तर प्रति १० ग्राम ३ सय ५० रुपैयाँ पुगेको छ ।केही दिनमा सुनको भन्सार समायोजन गर्ने तयारी भएको भन्दै त्यस बेलासम्मका लागि टिटी नपठाउन राष्ट्र बैंकले निर्देशन दिएको जोशीले बताए । अर्थ मन्त्रालयले भारतले सुनमा निर्धारण गरेको भन्सार दर समान हुने गरी नेपालमा पनि सुनको भन्सार निर्धारणका लागि तयारी गरेको छ । बजेटअघि भारतमा प्रतिदस ग्राम सुनमा २ सय भारु भन्सार लिने गरिएको थियो । त्यस बेला पनि नेपालमा भन्सार दर कम भएकाले धेरै सुन भारत गएकाले मुलुकको शोधानान्तर स्थिति नकारात्मक अवस्थामा गएको भन्दै राष्ट्र बैंकले दुई महिनाअघि बैंकले ल्याउने जस्ता सहज व्यवस्थाबाट सुन आयात गर्न रोक लगाएको थियो । नेपाल सरकारले प्रतिदस ग्राम सुनमा १ सय ३० रुपैयाँ मात्र भन्सार लगाउने गरेको छ ।
No comments:
Post a Comment