लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १९,माओवादी लडाकुको अस्थायी शिविरको भौतिक अवस्था तथा त्यहाँको जनजीवनबारे जानकारी लिन सेना समायोजन विशेष समिति र प्राविधिक समितिका सदस्यहरू निरीक्षणमा जाने भएका छन्।लडाकु शिविरमा सरकारी भरणपोषण दुरूपयोग भइरहेको आरोप लागिरहेका बेला सेना समायोजन विशेष समितिको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो। निरीक्षण तिथि भने तय भएको छैन। 'लडाकुलाई विशेष समितिको निर्देशन, रेखदेख, नियन्त्रणमा रहने सहमति गरिएकोमा त्यो अहिलेसम्म कार्यान्वयनमा आएको छैन,' समिति सदस्य रामशरण महतले सञ्चारकर्मीलाई भने, 'सरकारले लडाकुको सम्पूर्ण खर्च बेहोर्दै जानु र अर्कातिर पार्टीको प्रशिक्षण भइरहनु चिन्ताको विषय हो।'शिविरको भौतिक पूर्वाधार एवं लडाकुको भरणपोषणका लागि सरकारले पाँच अर्ब रूपैयाँजति खर्च गरिसकेको छ भने भरणपोषण र भत्तामा मासिक १६ करोडजति गइरहेको छ।प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार सरोकार निकायका मन्त्री र सचिवलाई बोलाएको विशेष बैठकमा सेनाका तर्फबाट व्यवस्था तथा युद्धकार्य महानिर्देशक गौरवसमशेर राणाले लडाकु शिविरमा ११ हजार ७ सय मात्रै भएको तथ्यांक ब्रिफिङ गरेका थिए।राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) बाट प्रमाणित १९ हजार ६ सयजना लडाकुमध्ये ४० प्रतिशतजति बाहिरिसकेकाले उनीहरूलाई दिइँदै आएको पैसा माओवादी पार्टीले दुरुपयोग गरेको राणाको आशय थियो। सरकारले शिविरमा रहेका लडाकुको यथार्थ संख्या माग्दा अनमिनले गोपनीयता भंग हुने भन्दै जानकारी दिएको थिएन।
No comments:
Post a Comment