News

Mar 5, 2010

कोरियनद्वारा लगानी फिर्ता लग्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ फागुन : प्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षाको चिन्ता लिनुपर्दैन भनी भाषण गरेको घन्टा नबित्दै शुक्रबार नेपालमा लगानी गरिरहेका कोरियन लगानीकर्ताले असुरक्षा भएको जनाउँदै लगानी फिर्ता लाने चेतावनी दिएका छन् । करिब ४५ करोड रुपैयाँ बराबरको लगानी गरी रसुवाको धुन्चेमा मिनरल वाटर उद्योग सञ्चालन गरेका कोरियन लगानीकर्ताले ज्यानकै सुरक्षा नभएको भन्दै लगानी फिर्ता लग्ने चेतावनी दिएका हुन् । तीन किलोमिटर परको भृकुटीमण्डपमा औषधि मेला उद्घाटन गर्दै व्यवसायीले सुरक्षा चिन्ता लिनुनपर्ने बताएको घन्टा नबित्दै कुपन्डोलको हिमालयन होटलमा कोरियन लगानीकर्ताले यस्तो चेतावनी दिएका हुन् । रसुवाको धुन्चेस्थित हिमालयज स्पि्रङ वाटर प्रालिका अध्यक्ष ह्यारी एस हानलाई दुई साताअघि अज्ञात समूहले आक्रमण गरी घाइते बनाएपछि उनीहरूले यस्तो चेतावनी दिएका हुन् । शुक्रबार पत्रकार सम्मेलन गरी हानले लगानी फिर्ता लाने चेतावनी दिनुभन्दा केही समयअघि मात्र प्रधानमन्त्री माधवकुमार नेपालले व्यवसायीलाई सुरक्षा चिन्ता नलिन आग्रह गरेका थिए । उनले व्यवसायीले सूचना दिएर सहयोग गरे अपराधी र डनहरूलाई तह लगाइदिने दाबीसमेत गरेका थिए । प्रधानमन्त्री नेपालले व्यवसायीले डनहरूलाई चन्दा दिएर बस्ने तर सूचना नदिने गरेको बताउँदै सूचना दिए यस्तालाई ठीक पार्ने बताए । 'आतंक फैलाउने धेरै डनलाई जेलमा कोचिसकेका छौँ, अझै कुनै डन बाँकी छन् भने भन्नूस् म तह लगाइदिन्छु,' उनले भने । प्रधानमन्त्रीले भाषण गरेको पाँच घन्टा नबित्दै कोरियन लगानीकर्ता आतंकित बनेर कोरिया नै फर्किएका छन् ।

No comments: