News

Aug 14, 2009

प्रधानमन्त्रीको प्रयास सफल भएन सभापति चयन गर्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ३० प्रधानमन्त्री माधवकुमार नेपालले संवैधानिक समितिको सभापति सहमतिमा चयन गर्न गरेको प्रयास शुक्रबार सफल भएन। प्रधानमन्त्री नेपालले प्रमुख तीन पार्टी एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर छलफल गरे पनि कुनै टुंगोमा पुग्न सकेन। बैठकमा माओवादीका तर्फबाट सहभागी मोहन वैद्य, नारायणकाजी श्रेष्ठसहितका नेताहरुले ठूला दलको हैसियतले समितिको सभापति आफूले नै पाउनुपर्ने दाबी पेश गरेको थियो। माओवादी नेताहरुले विगतमा माधव नेपाललाई आफूहरुले नै सिफारिस गरेकाले यसपटक सबैले माओवादी उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताएका थिए।माओवादी सत्तामा पनि नरहेको र संविधानसभा अध्यक्षको पदमा पनि नरहेको अवस्थामा समितिको सभापति पद पन नदिंदा 'बाइपास' गरेको जस्तो देखिने तर्फ पनि अन्य दलको ध्यानाकर्ण हुनुपर्नेमा माओवादी नेताले जोड दिएका थिए। कांग्रेसका तर्फबाट सहभागी रामशरण महतले आफ्नो पार्टीको दाबी व्यक्त गरेका थिए। "कसलाई पठाउने भन्ने कुरा हामीले केही निर्णय गर्या छैन त्यसमा सबैदलसँग सहमति गर्न सकिन्छ," नेता महतले भने, "संविधानसभाको अध्यक्ष एमाले र उपाध्यक्ष माओवादीका रहेकाले समितिको सभापति हामीले पाउनुपर्छ।" कांग्रेसबाट नेताहरु गोपालमान श्रेष्ठ र लक्ष्मण घिमिरे सहभागी थिए। प्रधानमन्त्री नेपालले भने एमालेको कुनै दाबी नरहेकाले 'तपाईहरु मिलाउनुहोस्' भनेका थिए। जसमा माओवादीले असहमति जाहेर गरेको थियो। सरकारको नेतृत्व गर्ने दलले अरुलाई मिल्नोस् भनेर छोड्न नहुने तर्क उनीहरुले अगाडि सारेका थिए। एमालेका तर्फबाट भरतमोहन अधिकारी, भिम आचार्य सहभागी थिए। संविधान निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण समिति संवैधानिक समितिको सभापतिको चयन भदौ १ गते हुँदैछ।

No comments: