News

Aug 1, 2009

न बिर्सेँ तिमीलाई यसपालि पाँच विधामा मनोनित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १४ यो वर्ष सर्वाधिक चर्चित रहेको गीत 'न बिर्सेँ तिमीलाई' यसपालिको टुबोर्ग इमेज एवार्डका पाँच मुख्य विधामा मनोनित भएको छ। राजधानीमा मंगलबार सार्वजनिक मनोनयन सूचीअनुसार यो गीतबाट गायिका अन्जु पन्त गीतकार विपिन किरण र संगीतकार महेश खड्का आ-आफ्ना विधामा मनोनित भएका छन् । वर्षको उत्कृष्ट गीतको प्रतिस्पर्धामा पनि यो छानिएको छ । साथै यो गीत समावेश एल्बम 'किरण'ले उत्कृष्ट एल्बमको मनोनयन पाएको छ।इमेज च्यानलको यो वार्षिक भिडन्तमा उत्कृष्ट गीतको पुरस्कार पाउन 'न बिर्सेँ तिमीलाई' ले शिव परियारको 'धेरै चोटि', सिने गुरुङको 'मेरो प्यारो', सुगम पोखरेलको 'स्कुल पाठशाला' र नरेन्द्र प्यासीको 'तिमीले दिने माया'लाई उछिन्नुपर्ने छ। त्यस्तै गायनमा अन्जु पन्तसँग विष्णु चेम्जोङ, प्रतिमा राजभण्डारी, सबनम गुरुङ र प्रेक्षा गौतम मनोनित भएका छन्।त्यस्तै रचनामा विपिनले एसपी कोइराला उत्तम भौकाजी वसन्त चौधरी र शीतल कादम्दिनी गुरुङ तथा संगीतमा महेशले न्ह्यू बज्राचार्य आलोकश्री सत्यस्वरुप र प्रविन बराइलीका चुनौती सामना गर्नेछन् । उत्कृष्ट एल्बमको विधा कब्जा गर्ने दाउमा चाहिँ 'किरण'सहित कादम्बिनी, रिफ्लेक्सन अफ लभ, स्कुल पाठशाला र उपमा देखिएका छन्।तर यीमध्ये वसन्त चौधरीको एकल रचना रहेको 'रिफ्लेक्सन अफ लभ'ले उत्कृष्ट एल्बम हात पार्ने सम्भावना बढी छ। किनभने यो पुरुष गायन महिला गायन पुरुष पप महिला पप वर्षको गीत एल्बम रचना संगीत र एरेन्ज तथा म्युजिकभिडियोका पाँचमध्ये चार गरी १३ विधामा मनोनित छ । यसपछि शीतल कादम्बिनी गुरुङको 'कादम्बिनी' एल्बमले ६ विधामा मनोनयन बटुलेको छ। यो पुरुष गायन एल्बम वर्षको गीत रचना र म्युजिक भिडियोका दुई विधामा मनोनित छ ।गायनका दुई विधामा मनोनित गायकमा एडि्रयन प्रधान र गायिकामा प्रतिमा राजभण्डारी रहेका छन् । जगदीश समाल हेमन्त शर्मा शिव परियार सत्यराज आचार्य र शैलेश सिँह पुरुष गायन तथा निमा रुम्बा सुगम पोखरेल दीपेशकिशोर भट्टराई एडि्रयन प्रधान र सनुप पौडेल पुरुष पपगायनको उपाधिका लागि भिड्दैछन् । महिला पप गायनमा प्रतिमा राजभण्डारी सिने गुरुङ श्रद्धा राई प्राश्ना शाक्य र पुष्पा पौडेलको प्रतिस्पर्धा हुनेछ।फिल्मको गीततर्फ 'सिलसिला'को 'सागरसरी...', 'जीवनमृत्युको 'तिमी फूलै फूलको....', 'खलनायक' को 'मागेर पाउने भए....', 'सानो संसार'को 'सायद मायामा...' र 'म तिमीबिना मरिहाल्छु'को शीर्षगीत मनोनयनमा परेको छ ।यो ११ औं वार्षिक संगीत एवार्ड कार्यक्रममा यसपालि कलाकारहरुले २५ विधामा भिड्नेछन् । हरेक विधामा पाँच कलाकार वा गीतलाई मनोनित गरिएको छ। प्रतिस्पर्धामा २०६४ चैतदेखि २०६६ जेठसम्म रिलिज भएका एल्बमका गीतलाई समावेश गरिएको छ। मनोनितबाट सर्वोत्कृष्टको छनोट एसएमएस इमेल पत्रिका कटिङ र निर्णायक मण्डलका मतका आधारमा गरिनेछ। आगामी भदौको अन्त्यमा हुने पुरस्कार वितरण समारोहमा गीतकार रत्नशमशेर थापा र लोकगायक कुमार बस्नेतलाई इमेज लाइफटाइम एचिभमेन्ट एवार्ड दिइने आयोजकले जनाएको छ।

No comments: