News

Aug 3, 2009

सुदूरपश्चिमका जिल्लाहरुमा महामारी रोग फैलिने डर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मध्यपश्चिम नेपालका जिल्लाहरुमा झाडापखालाको महामारी नियन्त्रण नहुँदै सुदूरपश्चिमका जिल्लाहरुमा उक्त रोग फैलिने डर बढेको छ। सरसफाईको कमीका कारण धेरै मानिसहरु झाडापखालाको शिकार हुने संभावना बढेको स्थानीय बासिन्दाको भनाई छ। जनचेतनाको अभावले समस्या गंभीर तुल्याइदिएको उनीहरुले बताएका छन्।मध्यपश्चिमका जिल्लाहरुमा झण्डै ३०० जनाको ज्यान लिइसकेको झाडापखालाबाट सुदूरपश्चिमका जिल्लाहरुमा पनि ३० जनाको मृत्यु भइसकेको छ। रोगबाट डोटी र बैतडी जिल्ला बढी प्रभावित भएका छन्। समयमै आवश्यक कदम नचालिएमा अरु जिल्लाहरुमा पनि रोग फैलिने आशंका गरिएको छ।स्वास्थ्यकर्मीहरुका अनुसार रोगको फैलावटसंगै मृत्यु हुनेको संख्या बढ्दै गइ महामारीको रुप लिन सक्छ।मध्यपश्चिम नेपालमा जस्तै सुदूरपश्चिमका जिल्लाहरुमा पनि सरसफाईको कमी र दुषित पानीको प्रयोगले नै झाडापखालाको महामारीको फैलाउने आशंका गरिएको छ।एकजना स्थानीय वासिन्दाले भने, सरसफाईको महत्वका बारे यहाँका मानिसहरुलाई धेरै कम जानकारी छ। जनचेतनाका कार्यक्रम ल्याउन जरुरी भएको कुरामा अधिकारीहरु पनि सहमत छन्।कैलाली जनस्वास्थ्य कार्यालयका गोपालकृष्ण सिन्हाले भने, "नगरपालिकामा समेत जनचेतना कार्यक्रम नभएको कुरा स्वीकार गर्नैपर्छ।"
जाजरकोटबाट शुरु भएको झाडापखाला रोगको प्रकोप रुकुम, दैलेख, सुर्खेत, सल्यान, डोल्पा लगायतका जिल्लाहरुमा पनि फैलिएको थियो। समयमै नियन्त्रणका उपायहरु नअपनाइएकाले रोगले महामारीको रुप लिएको धेरैको भनाइ छ।उनीहरू भन्छन्, सयौंको ज्यान लिइसकेको यो रोगले सुदूरपश्चिमका जिल्लाहरुमा फैलिएर महामारी रुप लिएमा अरु सयौंको अकालमै ज्यान सक्नेछ।

No comments: