लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालस्थित संयुक्त राष्ट्रसंघीय विशेष मिसन अन्मिनकी प्रमुख करिन लनग्रेनले छ महिनाभित्र नेपालको शान्ति प्रक्रियामा ठोस प्रगति हुने र त्यसपछि अन्मिनको कार्यावधि थप गर्नु नपर्ने आशा व्यक्त गरेकी छन्।तर त्यस्तो वातावरण निर्माणका निम्ति माओवादी र सत्तारुढ दलहरुबीच सहकार्य र सहमति अत्यावश्यक भएकोमा उनले जोड दिइन्।शान्ति प्रक्रियाले गति लिन नसकिरहेका बेला केही दिन अघिमात्र नेपाल सरकारको अनुरोधमा अन्मिनको कार्यावधि छ महिनाका लागि थप गरिएको थियो।माओवादी लडाकुहरुको पुन:स्थापना तथा संविधान निर्माण जस्ता महत्वपूर्ण मुद्दाहरुमा अपेक्षित प्रगति नभएपछि संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनको सिफारिस अनुसार हालै अन्मिनको कार्यावधि चौथो पटक थपिएको हो। त्यसअनुसार अन्मिनको कार्यावधि जनवरी २०१० सम्मका लागि थपिएको छ।शुक्रबार काठमाण्डूमा एउटा पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र संघका महासचिवकी नेपालस्थित प्रतिनिधि करिन लनग्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदले अन्मिनको कार्यावधि फेरि पाचौं पटक थप्नुपर्ने स्थिति नआओस् भन्ने आशा गरेको बताइन्।उनले भनिन्, “माओवादी सेना समायोजन विशेष समितिले जति छिटो काम गर्न सक्छ, त्यति छिटो माओवादी सेनाका विषयमा समाधान निस्कन सक्छ र अन्मिनले यहाँ आफ्नो काम सिध्याउन सक्छ।”लनग्रेनका अनुसार सुरक्षा परिषद अन्मिन नेपालमा सधैंका लागि रहिरहोस् भन्ने चाहाँदैन।"त्यसैले अन्मिनबाट जतिसक्दो धेरै फाइदा लिन यहाँका दलहरुलाई हामीले प्रेरित गरिरहेका छौं।"प्रमाणीकरणमा असफल भएका माओवादी लडाकुहरुलाई अस्थायी शिविरहरुबाट बाहिर निकाल्न हालै थालिएको कदमको स्वागत गर्दै अन्मिनले माओवादी सेना र पूर्व लडाकुहरुको भविष्य निर्धारण भएपछि मात्र नेपालमा दिगो शान्ति स्थापना हुने दोहोर्याएको छ।प्रमुख दलहरुले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्न देखाएको तदारुकताको प्रशंसा गर्दै अन्मिन प्रमुख लनग्रेनले सोही संयन्त्र मार्फत नयाँ संविधान, संघीयता लगायतका विषयहरुमा सहमति जुट्ने आशा व्यक्त गरिन्।“उच्चस्तरीय राजनीतिक संयन्त्रको महत्वलाई सम्मान गर्दै सो संयन्त्रलाई अझ विस्तारित र महत्वपूर्ण स्वरुप दिन हामी दलहरुलाई प्रेरित गर्छौं।”
No comments:
Post a Comment