News

Aug 5, 2009

माओवादी निर्णयबाट प्रधानमन्त्री गम्भीर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २२ - प्रधानमन्त्री माधवकुमार नेपालले राज्यभन्दा अघि बढेर स्वायत्त प्रदेश र स्थानीय सरकार गठन गर्ने माओवादी निर्णयबाट आफू गम्भीर भएको बताएका छन् । भारत भ्रमणबारे सुझाव लिनेक्रममा केही सम्पादक र वरिष्ठ पत्रकारसँगको अन्तक्रिर्यामा बुधबार उनले माओवादीले एकपछि अर्को गर्दै विद्रोहको बाटो लिन लागेको शंका गरेका हुन् । 'राज्यभन्दा अघि बढेर माओवादीले स्वायत्त प्रदेश र स्थानीय सरकार गठनको निर्णय गरेको छ,' प्रधानमन्त्रीले भने, 'साँच्चै माओवादी के चाहिरहेको छ भन्नेबारे अब सोच्ने बेला आएको छ ।' माओवादी र एमालेबीच प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिको कदम र नागरिक सर्वोच्चताबारे मतभिन्नता एक महिनाभित्र हटाउने सहमतिअनुरूप आफूले पहल थाल्दा लचकता देखाउनुको साटो आन्दोलन घोषणा गर्नु उचित नभएको उनले बताए । 'माओवादीप्रति म लचिलो हुने तर संविधान निर्माणजस्तो मुख्य र साझा प्राथमिकतामा उनीहरू लचिलो नहुने ?' उनले भने, 'माओवादीले साँच्चै सहयोग गर्न खोजेको हो/होइन, त्यसअनुसार सरकारले पनि सोच्नुपर्ने भएको छ ।'
नेपालले सरकारविरुद्ध शंकालाई एकपछि अर्को गरी निवारण गर्दै जाँदा माओवादीले अडान परिवर्तन गरिरहेको बताए । प्रधानसेनापति रुक्मांगद कटवालको म्याद थपिने, राष्ट्रपतिको सुरक्षा सल्लाहकार हुने वा अन्य कुनै हिसाबले सेनासँगको सम्बन्ध कायम गर्ने भन्ने माओवादी शंकालाई आफूले निवारण गरेको दाबी प्रधानमन्त्रीको थियो । 'त्यसपछि बूढी मरी भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता हो भन्ने उहाँहरूको धारणा आयो,' प्रधानमन्त्रीले भने, 'त्यसो हो भने अब नयाँ संविधानमा राष्ट्रपति र प्रधानमन्त्रीका अधिकारबारे प्रस्ट गरेर जाऔं भन्ने धारणा मैले राखें ।' संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्नेबारे जोड दिइरहँदा आन्दोलन घोषणा गर्नुले जटिलता थपिएको विश्लेषण उनको छ ।
प्रधानमन्त्रीले सेना समायोजन विशेष समिति पुनर्गठनबारे पनि माओवादीका तर्फबाट छोटो समयमा फरकफरक धारणा आएको बताए । 'विशेष समितिको पुनर्गठन गर्न लाग्दा अध्यक्ष माग्नुभयो तर मैले पहिले प्रधानमन्त्री अध्यक्ष भएकाले अहिले पनि त्यही कायम गरौं भनें,' माओवादीसँगको छलफलबारे उनले भने, 'त्यसपछि पुष्पकमल दाहालजीले त्यसो हो भने म बस्दिनँ, रामबहादुर थापा र वर्षमान पुन सदस्य बस्नुहुन्छ भनेर नाम टिपाउनुभयो । बैठक आह्वान भयो तर उहाँले फेरि आज नबसौं भन्नुभयो ।' माओवादीका फेरिएका धारणाबारे थप प्रस्ट पार्दै प्रधानमन्त्रीले थपे, 'फेरि छलफल हुँदा विशेष समितिको कम्पोजिसन फेरौं भन्ने प्रस्ताव राख्नुभयो । त्यसमा तीन दलमात्र बसौं भन्नुभयो र माओवादीका सदस्य थप्नुपर्नेमा जोड दिनुभयो ।' आफूले माओवादीलाई समेत सहमतिमा लिएर अघि बढ्न उनीहरूकै आग्रहमा तत्कालीन रथी कुलबहादुर खडकाविरुद्ध कारबाही रोकेको समेत प्रधानमन्त्रीले स्मरण गरे । 'तर माओवादी कहिल्यै पनि लचिलो भएन,' नेपालले भने । भारत भ्रमण सद्भाव भएको भन्दै प्रधानमन्त्रीले त्यसक्रममा अघिल्लो सरकारका सकारात्मक पहललाई निरन्तरता दिइने बताए । 'यो भ्रमण निरन्तरताको क्रमभंगता होइन, निरन्तरताकै निरन्तरता हो,' उनले भने ।

No comments: