News

Nov 1, 2009

मा‌ओवादी आज स्थानीय निकायहरु घेर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १६ नागरिक सर्वोच्चताको आफ्नो माग पूरा नभएको भन्दै आइतबारबाट आन्दोलन थालेको एकीकृत माओवादीका कार्यकर्ताले आज स्थानीय निकाय घेर्ने कार्यक्रम राखेको छ। यस अनुसार आज बिहानैदेखि देशभरका गाविस र नगरपालिकाअगाडि भेला भएका कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन्। काठमाडौँमा बागदरबारमा रहेको काठमाडौँ महानगरपालिका कार्यालयअगाडि बिहान साढे आठ बजेदेखि नै कार्यकर्ताहरुले नारा लगाइरहेका छन्।माओवादीले आज दिनभर कार्यालय घेराबन्दी गरी कुनै पनि कर्मचारीलाई भित्र पस्न नदिई स्थानीय निकायको कामकाज ठप्प पार्ने बताएको छ। माओवादीको कार्यक्रममा मुठभेड हुने संभावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय निकायका कार्यालयहरुमा प्रहरीको उपस्थिति सुदृढ बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ। यसअघि माओवादीले आइतबार साँझ देशभर मसाल जुलुस प्रदर्शन गरी दोस्रो चरणको आन्दोलन सुरु गरेको थियो। आन्दोलनका कार्यक्रम अनुसार सोमबार माओवादीले जनसभासमेत गर्दैछ। यसैगरी १८ र १९ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम छ। माओवादीको संयुक्त जनआन्दोलन समितिका संयोजक बाबुराम भट्टराईले सार्वजनिक गरेको कार्यक्रममा २३ गते स्वायत्त गणराज्यहरु घोषणा गर्ने र २४ गते काठमाडौं उपत्यका नाकाबन्दी गर्ने छ। उक्त दिन विमानस्थल समेत बन्द गरिने नेता भट्टराईले बताएका थिए। दोस्रो जन आन्दोलनको बेलासमेत एयरपोर्ट बन्द गरिएको थिएन।यसैगरी आगामी २६ र २७ गते सिंहदरवार घेर्ने कार्यक्रम छ।

No comments: