News

Nov 4, 2009

१२ मुलुकको राजदूतलाई भेटेपछि हवाई नाकाबन्दी फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ कात्तिक,दोस्रो चरणको आन्दोलनसँगै माओवादीले कूटनीतिक छलफल तीव्र पारेको छ । मंगलबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले विभिन्न १२ मुलुकका राजदूतसँग भेटवार्ता गरेका छन् ।पछिल्लो राजनीतिक अवस्था, जारी आन्दोलन र शान्तिप्रक्रियामा आफ्नो प्रतिबद्धता दोहोर्‍याउन कूटनीतिक नियोगका अधिकारीसँग भेटघाट गरेको माओवादीले जनाएको छ ।दोस्रो चरणको आन्दोलन सुरु भएपछि त्यसबाट शान्तिप्रक्रियामा पर्न सक्ने असर र राजनीतिक तरलताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहँदा माओवादी नेतृत्वले शान्तिप्रक्रियाप्रतिको आफ्नो प्रतिबद्धता कायमै रहेको देखाउने भेटघाट तीव्र बनाएको हो ।मंगलबार दिउँसो होटल अन्नपूर्णमा विभिन्न १२ मुलुकका राजदूत तथा उच्च अधिकारीसँग माओवादी अध्यक्ष प्रचण्ड र स्थायी समिति सदस्य तथा विदेश विभागप्रमुख कृष्णबहादुर महराले छलफल गरेका थिए ।भेटका क्रममा माओवादी नेताले कूटनीतिक अधिकारीसँग शान्तिप्रक्रियामा आफ्नो प्रतिबद्धता दोहोर्‍याएका थिए भने राजदूतहरूले आन्दोलनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेका थिए । उनीहरूले आन्दोलनका दौरानमा कुनै अपि्रय घटना नहोस् भनी चिन्ता राखेका थिए । 'उहाँहरूले शान्तिप्रक्रिया र हाम्रो आन्दोलनबारे बुझ्न खोज्नुभएको थियो, वर्तमान राजनीति अवस्था र शान्तिप्रक्रियाबारे हाम्रो प्रतिबद्धता अध्यक्षले राख्नुभयो,' विदेश विभागप्रमुख महराले मंगलबारसाँझ नयाँ पत्रिकासँग भने, 'हामीले नै अहिलेको अवस्थाबारे जानकारी गराउन उहाँहरूलाई बोलाएका थियौँ ।' भेटघाटमा अमेरिका, बेलायत, चीन, जर्मनी, फ्रान्स, डेनमार्क, फिनल्यान्डलगायत मुलुकका राजदूत र भारत, अमेरिकालगायत देशका उच्च अधिकारी सहभागी थिए । छलफलका क्रममा माओवादी नेताले 'यो सरकारले संविधान निर्माण, शान्तिप्रक्रियालाई निष्कर्ष, सेनासमायोजन र जनताका दैनिक समस्यामा काम गर्न सक्दैन' भन्ने आफ्नो पार्टीको धारणा राजदूत तथा अधिकारीहरूसमक्ष राखेका थिए । यसैबीच, युरोपियन युनियनका तर्फबाट मंगलबार साँझ बि्रटिस दूतवासले जारी गरेको विज्ञप्तिमा भेटमा माओवादी अध्यक्ष प्रचण्डलाई आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको उल्लेख छ । यसअघि माओवादीले आन्दोलन घोषणा गरेकै भोलिपल्ट ११ कात्तिकमा नेपालका लागि अमेरिकी राजदूत जेफ्री मोनले प्रचण्डनिवास नयाँबजार पुगेर प्रचण्डसँग भेट गरेका थिए ।राजदूतसँगको भेटपछि बसेको माओवादी केन्द्रीय पदाधिकारीको बैठकले हवाइ नाकाबन्दी फिर्ता लिने निर्णय लिएको छ । माओवादी अध्यक्ष प्रचण्डले विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका अधिकारीसँग छलफल गरेलगत्तै मंगलबार साँझ माओवादी पदाधिकारीको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसेको थियो । 'एयरपोर्ट नाकाबन्दीले अन्तर्राष्ट्रिय आवतजावतमा समस्या पार्ने भएकाले राजदूत-हरूले भेटघाटमा हवाइ नाकाबन्दी नगर्न आग्रह गरेकाले स्थगित गर्‍यौँ,' बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले भने । माओवादीले २४ कात्तिकमा घोषित उपत्यका नाकाबन्दीअन्तर्गत हवाइमार्गसमेत बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

No comments: