लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक २० आन्दोलनरत एकीकृत माओवादीले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता लिएको छ। माओवादीद्वारा गठित संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालका अध्यक्ष बाबुराम भट्टराईले आज एक विज्ञप्ति प्रकाशित गर्दै सो कार्यक्रम फिर्ता लिएको जनाएका हुन्। समानान्तर सरकारको भ्रम फैलिएको कारण देखाउँदै कार्यक्रम फिर्ता लिइएको हो। माओवादीले आउँदो सोमबार स्वायत्त गणराज्य घोषणा गर्दै साइनबोर्ड राख्ने घोषणा गरेको थियो।सरकारले माओवादीको यस्तो कार्यक्रमले शान्ति सम्झौता उल्लंघन हुने बताउँदै आएको थियो। पूर्वी जिल्लाको भ्रमणमा रहेका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान इलाममा सञ्चारकर्मीहरुसित कुरा गर्दै तयारी नपुगेकोले हाललाई स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम स्थगित गरिने जानकारी दिए। 'पछि पूरा तयारी गरेर सशक्त रुपमा घोषणा गर्नेछौँ,' उनले बताए। भट्टराईद्वारा जारी विज्ञप्तिमा उपयुक्त समयमा सो कार्यक्रम पुनः ल्याइने बताइएको छ। बुधबार र बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरेका माओवादीहरुको आगामी कार्यक्रम आउँदो मंगलबार काठमाडौँ उपत्यका नाकाबन्दी गर्ने रहेको छ। सो दिन हवाई नाकाबन्दी समेत गर्ने घोषणा भएकोमा विदेशी राजदूतहरुको आग्रहमा हवाई नाकाबन्दी फिर्ता भइसकेको छ। विज्ञप्तिमा कात्तिक २४ गते काठमाण्डौं उपत्यका नाकाबन्दी गर्ने कार्यक्रम अन्तर्गत एअरपोर्टको आवागमन समेत रोक्ने कार्यक्रम रहेकोमा एअरपोर्टलाई सो दिन अवरुद्ध नगर्ने तर काठमाण्डौं उपत्यका बाहिर जाने आउने सडकमार्गहरु भने अवरूद्ध गर्ने भन्दै त्यस दिन सडकमार्गबाट काठमाडौँ उपत्यका भित्रबाहिर नगर्न र सवारी साधनहरू नचलाउन भनिएको छ।
No comments:
Post a Comment