लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ कात्तिक,एकीकृत माओवादीले नयाँ संविधानको प्रस्तावनामा 'बहुलवादी' शब्द नराख्न सुझाब दिएको छ । संविधानसभाअन्तर्गतको संवैधानिक समितिको बिहीबार बसेको बैठकमा माओवादीले 'बहुलवादी' लाई बढी दार्शनिक शब्द भन्दै प्रस्तावनामा राख्न नहुने जिकिर गर्यो ।बैठकमा एमाले नेता सुरेन्द्र पाण्डेले धर्मनिरपेक्षतालाई नयाँ संविधानको प्रस्तावनामा राख्नुपर्ने बताए । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने प्रस्तावना धेरै लामो बनाउनु नहुने सुझाब दिए ।कांग्रेसको महासमिति बैठकका कारण स्थगित संवैधानिक समितिको बैठक एक सातापछि बिहीबार बसेको हो । बैठकमा सभासद्हरूले प्रस्तावनाबारे आआफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबारको बैठकमा पनि प्रस्तावनाकै विषयमा छलफल हुने समितिले जनाएको छ ।यता, संविधानसभा, राज्यको शासकीय स्वरूप निर्धारण समितिले विवादित विषयमा प्रमुख दलका शीर्षनेतासित छलफल गरी निकास खोज्ने भएको छ । समितिले सहमति खोज्न गठन गरेको कार्यदलको बिहीबार बसेको बैठकले प्रमुख दलका शीर्षनेतासित छलफल गर्ने निर्णय गरेको हो ।कार्यदलले आउँदो २५ कात्तिकमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालसित छलफल गर्ने भएको हो । छलफल कांग्रेस सभापति कोइरालाको महाराजगन्जस्थित निवासमा हुने कार्यदलले जनाएको छ ।समितिमा प्रमुख दलहरूबीच शासकीय स्वरूप र निर्वाचनप्रणालीका विषयमा चर्को मतभेद छ । माओवादीले प्रत्यक्ष निर्वाचनबाट निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख बनाइनुपर्ने प्रस्ताव अघि सारेको छ । कांग्रेस र एमाले माओवादी प्रस्तावमा सहमत छैनन् । कांग्रेसले आलंकारिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेको छ । कार्यकारी प्रधानमन्त्री केन्द्रीय व्यवस्थापिकाबाट निर्वाचित हुनुपर्ने कांग्रेसको प्रस्ताव छ । एमालेले भने कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने प्रस्ताव गरेको छ ।समितिकेा कार्यदलमा १२ जना सदस्य छन् । समितिका सभापति एवं कार्यदलका संयोजक शम्भु हजारा दुसाधले शीर्षनेतासित छलफल गराएर कात्तिक महिनाभित्रै मस्यौदा तयार गरिने बताए । शीर्षनेताले समय नदिएकै कारण लामो समयदेखि समितिको बैठक बस्न सकेको छैन ।यसअघि प्रमुख तीन दलका शीर्षनेतालाई समितिले छलफलका लागि बोलाएको थियो । त्यतिखेर तीनवटै नेताले समय पनि दिएका थिए । तर, अन्तिम समयमा कांग्रेस सभापति कोइराला अस्वस्थ भएपछि छलफल कार्यक्रम स्थगित गरिएको थियो ।अब पनि नेताहरूले समय नदिए कसैलाई नकुर्ने सभापति हजाराले बताए । नेताहरूले समय नदिए मतविभाजन प्रक्रियाबाटै भए पनि विवादित विषयको टुंगो लगाइने उनले बताए ।
No comments:
Post a Comment