लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ, कार्तिक २१ - किरात प्रदेशका माओवादीले केन्द्रीय निर्णयको अबज्ञा गर्दै स्वायत्त गणराज्य घोषणा कार्यक्रमलाई थथावत राखेका छन् । सोमबार किरात स्वायत्त गणराज्य घोषणाका उक्त क्षेत्र अन्तरगत पर्ने जिल्लाका नेता कार्यकर्ता खोटाङको दिक्तेलमा भेला भएका छन् । यसका लागि सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, भोजपुर र खोटाङका नेता कार्यकर्ता भेला भएका हुन् । किरात राज्य अन्तरगत गोपाल किराती संयोजक रहेको जनआन्दोलन समितिले तय गरेको कार्यक्रमका लागि पार्टी महासचिव रामबहादुर थापालाई प्रमुख अतिथिका लागि निम्तो गरिएको छ । माओवादी किरात राज्य जनआन्दोलन समिति सदस्य तथा खोटाङ जिल्ला इन्चार्य ध्रुब बुढाथोकीका अनुसार आन्दोलन सफल पार्न माओवादी किरात राज्य अन्तरगत पर्ने ६ वटै जिल्लाका सभासद्हरू पनि भेला भइसकेका छन् । पार्टीभित्र कडाधारमा देखा परेका किराती नेतृत्त्वको समितिले केन्द्रीय निर्णयप्रति आधिकारिक रूपमा बिमत्ति नजनाए पनि आन्दोलनको तयारी भइसकेकाले स्थगित नगरेको जनाएको छ । 'बिकट क्षेत्र भएकाले स्थगित गर्नु भन्दा घोषित कार्यक्रम गर्नु नै उपयुक्त हुने देख्यौं' बुढाथोकीले भने । स्थानीय सञ्चारमाध्यमले माओवादीले आन्दोलन फिर्ता लिएको खबर प्रकाशन/प्रसारण गरेकोप्रति आपत्ति जनाउँदै किरात राज्य घोषणा गरेरै छाड्ने भन्दै समाचार सच्याउँन माओवादीले आग्रह गरेको छ । 'केन्द्रीय घोषणाले जे-जे भने पनि किरात राज्य घोषणा गरेरै छाड्छौं' उनले भने ।
No comments:
Post a Comment