News

Nov 7, 2009

आन्दोलनबाट समानान्तर सरकार घोषणा गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी राखेका माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलनबाट समानान्तर सरकार घोषणा गर्ने चेतावनी दिनुभएको छ। ‘अबको आन्दोलनले देशभर स्वायत्त गणराज्यहरू स्थापना गरी समानान्तर सरकारसमेत बन्न सक्छ’ -प्रचण्डले भन्नुभयो।शनिबारदेखि वीरगन्जमा शुरू भएको माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) को राष्ट्रिय एकता सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीलाई अलग्याएर नयाँ संविधान बन्न नसक्ने र संघीयता पनि कायम हुन नसक्ने बताउनुभयो। माओवादीविरुद्ध सेना परिचालन गर्ने उपप्रधानमन्त्री विजय गच्छदारको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै प्रचण्डले आन्दोलन दबाउन सेना परिचालन गर्नेहरूको हबिगत ज्ञानेन्द्रको झैं हुने चेतावनी दिनुभयो। अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘नेपाली सेना कसैको बपौती होइन, उनीहरूले भन्दैमा जे पनि हुन्छ भन्ने नसोचे हुन्छ।’ उहाँले विगतमा आफूहरूले संघीयताको कुरा उठाएका बेला संकटकाल घोषणा गर्ने र टाउकाको मूल्य तोक्नेहरूले अहिले संघीयताको नाममा गोहीको आँसु झार्ने गरेको टिप्पणी गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघले नेपालमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भनी दिएको अभिव्यक्ति हस्तक्षेप नभएको जिकिर गर्दै भन्नुभयो- ‘हरुवाहरूलाई सरकारमा ल्याउनु हस्तक्षेप हो कि होइन ?’ माओवादी अध्यक्ष प्रचण्डले नेपाली जनताले हरुवाहरूले नभई निर्वाचित भएकाहरूले सरकार चलाऊन् भन्ने चाहेको बताउनुभयो। उहाँले विगतको सहमति तोड्नेहरूले अहिले सहमति गरौं भनेर नाटक मात्र गरिरहेको बताउनुभयो। माओवादी अध्यक्ष प्रचण्डले मधेसको कुरा गर्नेहरू नै मधेसीका लागि गद्दार भएको आरोपसमेत लगाउनुभयो। सम्मेलनलाई माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, सचिव सीपी गजुरेल, माओवादी नेताहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल ‘सुनील’, तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल, मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य लालबाबु राउतलगायतले पनि सम्बोधन गर्नुभएको थियो। वीरगन्जको नारायणी रंगशालामा भएको सम्मेलनको माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको हो। कार्यक्रमको उद्घाटन मध्याहन १२ बजे नै गर्ने भनिए पनि माओवादी अध्यक्ष प्रचण्ड झन्डै दुई घण्टा ढिलो गरी कार्यक्रमस्थल पुग्नुभएकाले सम्मेलन दिउँसो सवा २ बजेदेखि शुरू भएको थियो। सम्मेलनले मधेस आन्दोलनको कार्यदिशा तयार गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने मोर्चाका संयोजक कृष्णदेव सिंहले जानकारी दिनुभएको छ। स्रोतका अनुसार सम्मेलनले एक मधेस अनेक प्रदेशसहितको नीतिलाई माओवादीको मधेसनीतिका रूपमा ल्याउन लागेको छ।

No comments: