लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयां दिल्ली, चैत्र २९ - बहादुरीका लागि संसारभर ख्याति कमाएका गोर्खा सैनिकहरुको संग्राहलय दार्जिलिंगमा स्थापना गरिने भएको छ । यस्तो खालको संग्राहलय भारतमा निर्माण हुन लागेको यो पहिलो अवसर हो । एक करोडको लागतमा निर्माण हुन लागेको यो संग्राहलयमा विभिन्न युद्धमा गोर्खा सैनिकले देखाएको बहादुरीको इतिहास, फोटो, विशिष्ट सम्मान तथा तक्मा, वेशभूषा आदि प्रदर्शनीमा राखिने योजना बनाइएको छ । दार्जिलिंग शहरबाट करिब ६ किलोमिटर दूरीमा रहेको बतासिया लुपस्थित गोर्खा युद्ध स्मारककै छेऊमा निर्माण गर्न लागिएको उक्त संग्राहलयको केही दिनअघि सांसद एवम् भारतीय जनता पार्टीका नेता जसवन्त सिंहले शिलयान्स् गरे । संग्राहलय निर्माणका लागि सिंहले सांसद कोषबाट २५ लाख रुपियां उपलब्ध गराउने घोषणा समेत गरेका छन् । थप सहयोग क्रमैसंग उपलब्ध गराउने वचन पनि सिंहले दिएको संग्राहलय निर्माणमा अग्रसरता लिएका गोर्खा सैनिक स्मृति चिन्ह समितिका अध्यक्ष हेमन्त कुमार प्रधानले जानकारी दिए । सांसरभरका गोर्खा समुदायलाई आफ्ना पिता पुर्खाको गौरवशाली इतिहाससंग साक्षात्कार गराउने उद्देश्यले यो संग्राहलय बनाउन लागेका हौं, द्धितीय विश्व युद्ध लडेका आफ्ना पिताको सम्झना गर्दै प्रधानले भने । नेपाल, भारत, बेलायत वा संसारको जुनसुकै कुनामा बसेका गोर्खाहरुका लागि यो संग्राहलय तीर्थस्थल जस्तै हुने अपेक्षा आफूहरुले गरेको प्रधानले दार्जिलिंगबाट टेलिफोनमा कान्तिपुरलाई बताए । संग्राहलयको निर्माण कार्य एक वर्षभित्र पूरा गर्ने योजना बनाइएको उनले जानकारी दिए ।
No comments:
Post a Comment