लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ३०- नयाँ बानेश्वरमा फ्लाइओभरका निम्ति माटो परिक्षण थालिसकेको सडक विभागले राजधानीका थप तीन स्थानमा यस्तै फ्लाइओभरको योजना अघि सारेको छ। विभागले एक स्थानमा पैदलयात्रुले सडक पार गर्ने र अर्को स्थानमा सवारी नै ओहोरदोहोर गर्ने हिसाबले दुईवटा सब वे (भूमिगत मार्ग)को तयारी पनि थालेको छ। कलंकीदेखि एयरपोर्टसम्म आउजाउ सहज पार्ने उद्देश्यले अघि बढाइएको तीनवटा फ्लाइओभरमध्ये एउटा थापाथलीदेखि त्रिपुरेश्वरसम्म, अर्को कालिमाटीमा र तेस्रो सहिदगेटदेखि त्रिपुरेश्वरको आँखा अस्पतालसम्म राखिनेछ। यसका निम्ति विभागले अध्ययन सुरु गरिसकेको छ। यो क्षेत्रमा तीनतिरबाट हुने त्रिपुरेश्वरको ट्राफिक चाप नियन्त्रण गर्नु सबैभन्दा गाह्रो हुँदै आएको छ। त्यसैले सहिदगेटदेखि आँखा अस्पतालसम्म पनि फ्लाइओभरको योजना बनाइएको हो। विभागका अनुसार यी सबै फ्लाइओभरको काम अघि बढाउन 'स्वाइल टेस्ट प्रालि' र 'अभियान कन्सल्टिङ कम्पनी'लाई जिम्मेवारी दिइसकिएको छ। माइतीघर-तीनकुने खण्डमा पर्ने फ्लाइओभरको डिजाइन तयार पारिसकेर नयाँ बानेश्वरमा माटो परीक्षण पनि सुरु भइसकेको छ। 'नयाँ बानेश्वर चोकैमा ४० मिटरको पुलसहित दुवैतर्फ १७० मिटर भिरालो संरचनाको नमुना डिजाइन तयार पारिसकेका छौं,' विभागका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले भने, 'माटो परीक्षणको काम पनि लगभग सम्पन्न भइसकेको छ।'
No comments:
Post a Comment