News

Apr 8, 2012

तेह्रथुममा ऐतिहासिक संघीय-लिम्बुवानी आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीय-लिम्बुवानी आन्दोलनलाई निरन्तर अघिबढाउनेक्रममा लिम्बुवानको मुटु तेह्रथुमको मेयङलुङमा "मेयङलुङ, तेह्रथुम् जाऔं, संघीयता र लिम्बुवानका लागि संघीय-लिम्बुवान आमसभा सफल पारौं'' भन्ने नाराका साथ संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति, तेह्रथुमले विशाल संघीय-लिम्बुवान आमसभा सम्पन्न गर्‍यो । संविधानसभाबाट ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशी-सङ्खुवाखोलापूर्वका ९ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य घोषणासहितको संविधान जेष्ठ १४ नै जारी गरिनुपर्ने; आई. एल. महासन्धि १६९, यूएनडि्रप र आत्मनिर्णयको अधिकार र समानुपातिक सहभागिताको संवैधानिक सुनिश्चितता गरिनुपर्ने मागराखी यो आमसभाको आयोजना गरिएको हो । यस आमसभालाई संघीय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' एवम् अन्य केन्द्रीय नेतृत्वहरूले सम्बोधन गर्नुभएको थियो । जिल्ला सदरमुकाम मेयुङलुङ बजारको बसपार्कबाट केन्द्रीय नेतृत्वहरूको नेतृत्वमा साँस्कृतिक झाँकी केलाङ र संघीय-लिम्बुवानी नारावाजीसहित शुरुभएको जुलुशले मेयङ्लुङ बजार परिक्रमा गरी सभास्थल मेयङ्लुङ (सिंहवाहिनी) उच्च माविको प्राङ्गणमा पुगी आमसभामा परिणत भएको थियो ।
संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुमका अध्यक्ष देवनारायण सम्बाहाङ्फेको अध्यक्षतामा भएको सो आमसभाको प्रमुख अतिथि परिषदकै केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' रहनुभएको थियो । लिम्बुवान तेह्रथुमका उपाध्यक्ष विशाल कुरुम्बाङले उक्त आमसभाको औचित्य प्रकाश पार्दै स्वागत मन्तव्य राखिएको सो कार्यक्रम्मा लिम्बुवान आइडल २०६८ का उत्कृष्ट १० प्रतिस्पर्धी कलाकारहरूले ''हाम्रो प्यारो लिम्बुवान'' बोलको गीत गाएर आमसभामा साङ्गीतिक स्वागत गरेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र र लिम्बुवानको सपना साँच्दै आफ्नै जीवन वलिदान दिएका वीर शहीदहरू माङ्तोक र मनिललगायतको सम्मान र सम्झनामा १ मिनेट मौनधारण गरी सङ्खुवा-अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान र सम्पूर्ण बहुजाति लिम्बुवानवासीको प्रतीकस्वरुप ९ वटा दीपमा दीप प्रज्ज्वलन गरी प्रमुख अतिथि केन्द्रीय अध्यक्ष 'मिराक' र महिला अध्यक्ष शान्ता योङहाङले उक्त संघीय-लिम्बुवान आमसभाको उद्घाटन गर्नुभएको थियो।
स्थानीय, लिम्बुवान आइडल २०६८ तथा राष्ट्रिय कलाकारहरू खगेन्द्र यक्सो र कुशल थलङको सुमधुर लिम्बुवानी साङ्गीतिक प्रस्तुतीसँगै सम्पन्न उक्त आमसभालाई फेदाप र छथरका केलाङ समूहले थप रौनकता प्रदान गरेका थिए । आमभसालाई सम्बोधन गर्दै संघीय विद्यार्थी युनियन लिम्बुवानका अध्यक्ष जेण्टल लावतीले संघीय-लिम्बुवानी विद्यार्थी आन्दोलनको बारेमा बोल्दै आफूहरू संघीय सह-अस्तित्ववादी व्यवहारिक शिक्षाप्रणालीको संघर्ष गरिरहेको बताउनु भयो । साथै, वहाँले पूर्ण समानुपातिक स्ववियु चुनावप्रणालीको अवलम्बन नभएसम्म लिम्बुवानमा स्ववियुको चुनाव नहुने पनि बताउनु भयो ।
संघीय याक्खालेन स्वायत्त परिषदका अध्यक्षर् इश्वर याक्खाले आमसभालाई सम्बोधन गर्नुहुँदै लिम्बुवानवासी सम्पूर्ण याक्खा जातिहरू लिम्बुवानअर्न्तर्गत नै याक्खालेन स्वायत्त क्षेत्रको अधिकार प्राप्त गरी अघि बढ्न चाहेको धारणा राख्नु भयो । लिम्बुवानका राष्ट्रिय पार्ष दिलकेशर थापा क्षेत्रीले सभालाई सम्बोधन गर्नुहुँदै लिम्बुवान केवल लिम्बू जातिको मात्र नभएर सम्पूर्ण लिम्बुवानवासी सबै जातजातिको भएको बताउँदै यो संघीय-लिम्बुवानी आन्दोलनमा सबैलाई समाहित हुन आह्वान पनि गर्नुभयो ।
लिम्बुवान केन्द्रीय सदस्य तथा लिम्बुवान काठमाडौं उपत्यकका अध्यक्ष शिवकुमार पाङ्गेनहाङले काठमाडौं उपत्यकामा भइरहेको लिम्बुवानको गतिविधिबारे जानकारी दिनुहुँदै यही आउँदो वैशाख २३ गते काठमाडौंको रिङरोडवरिपरि हुने संघीय-लिम्बुवानी पैदल रोडमार्च पासको आयोजना गरेको बताउँदै त्यसमा सहभागी हुन आउन सबैलाई आह्वान गर्नुभएको थियो ।लिम्बुवानका केन्द्रीय सदस्य इन्द्र श्रेष्ठले लिम्बू जातिको नाममा लिम्बुवान भएको नभई ऐतिहासिक भूमि लिम्बुवानको नामबाट लिम्बू जातिको नाम रहन गएकोले यो लिम्बुवान राज्यको नाम केवल लिम्बू जातिको मात्र नभई सम्पूर्ण लिम्बुवानवासीको भएको दावी गर्दै यो आन्दोलनमा लाग्न सबै लिम्बुवानवासीलाई आग्रह गर्नुभयो ।
लिम्बुवानका केन्द्रीय सदस्य गंगा सेनेहाङले लिम्बुवान आन्दोलनमा तेह्रथुमको भूमिकाबारे प्रष्ट्याउनु हुँदै भौगोलिक हिसाबले पनि लिम्बूको मुटुझैं रहेको तेह्रथुम जिल्ला र यसका छथर, फेदाप र आठराई थुमहरू लिम्बुवानको लागि सशक्तताका साथ जुर्मुराइरहेको र अझ सशक्तताका सथा अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । लिम्बुवानका महिला अध्यक्ष शान्ता योङहाङले लिम्बुवान आन्दोलनमा महिलाहरूको भूमिकाबारे बताउनुहुँदै अब पनि यो संघीय-लिम्बुवानी आन्दोलनलाई आत्मसात गर्ने राजनीतिक दल र संघ-सङ्गठनमा योगदान नदिई संघीयता र लिम्बुवान विरोधी राजनीतिमा लागेका आफ्ना श्रीमान वा पुरुषलाई साथ नदिई वहाँहरूलाई प्रत्याह्वान गरी घरको काम गर्ने जिम्मा सुम्पेर सम्पूर्ण महिलाहरू यो संघीय-लिम्बुवानी आन्दोलनमा सरिक हुन आह्वान गर्नुभयो ।
लिम्बुवान भोल्युण्टियर्सका राजनीतिक कमिसार प्रेमदीप थाम्सुहाङले संघीय-लिम्बुवान आन्दोलनमा एलभीहरूको भूमिकाबारे प्रष्ट्याउँदै लिम्बुवान एलभीहरू संघीयता र लिम्बुवानको सुनिश्चित नभएसम्म अहोरात्र संघीयता, लिम्बुवान, यसका नेतृत्व, कार्यकर्ता र सम्पूर्ण जनताकै सहयोग र सुरक्षार्थ खटिरहने बताउनु भयो । लिम्बुवानका केन्द्रीय सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङले आमसभामा लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिबारे प्रष्ट्याउनु हुँदै लिम्बुवानको ऐतिहासिकता अरुभन्दा विशिष्ट रहेको जानकारी गराउँदै सोही आधारमा सङ्खुवा-अरुण-सप्तकोशीपूर्ण ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चिता हुनुपर्नेमा जोड दिनुभयो ।
लिम्बुवानका विदेश सचिव विशेन्द्र चेम्जोङले विदेशमा लिम्बुवानको गतिविधिबारे जानकारी गराउँनुहुँदै अहिलेको सञ्चार प्रविधिको सदुपयोगले रोजगारीको शिलशिलामा प्रवासमा रहनुभएका लिम्बुवानसी संघीयवादी लिम्बुवानप्रेमी महानुभावहरू विदेशमा पनि उत्तिकै सशक्तताका साथ लागिपरेको बताउनु भयो ।
आमसभालाई सम्बोधन गर्नेक्रमको अन्तमा प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमारलिङ्देन 'मिराक'ले समग्र संघीय राजनीति र लिम्बुवानको भूत, वर्तमान र भविश्यबारे विशेष सम्बोधन गर्नु भएको थियो । अध्यक्ष मिराकले अहिले नेपालको राजनीति एक्दमै सङ्गीन मोडमा रहेको बताउनु हुँदै संघीयता र लिम्बुवान विरोधी एकात्मकवादीहरू एक्दमै सलवलाइरहेकोले यिनीहरूको मुकाविला गर्न सम्पूर्ण संघीयवादी शक्तिहरूले गाउँदेखि शहर र केन्द्रसम्म जनदवाव सिर्जना गर्नुपर्ने बताउनु भयो ।
वहाँले लिम्बुवानको इतिहासलाई सम्झँदै केही दशकको इतिहास, विरासत र अस्तित्वको लागि त कैयौं संघर्ष भइरहेका छन् भने १४ सय पुरानो लिम्बुवानी विरासत र अस्तित्वको लागि लिम्बुवानवादी जनताहरू आन्दोलित हुनु एक्दमै जायज र सान्दर्भिक भएको धारणा राख्नुभयो । वहाँले संघीयता र लिम्बुवान विरोधीहरूलाई चुनौती दिँदै यदि संघीयत र लिम्बुवान विरोधी एमाले-कांग्रेसहरूले साँच्चिकै संघीयता र लिम्बुवानलाई नमान्ने हो भने अब लिम्बुवानवासी जनताले उनीहरूलाई सधैँ मानेर लिम्बुवानमा उनीहरूलाई कार्यालय खोल्न किन दिने भन्दै अब आवश्यक परे लिम्बुवावासीहरू झण्डा मात्र नभई डण्डासमेत उठाउन बाध्यहुने समेत चेतावनी दिनुभयो ।
वहाँले आफूहरू कहिल्यै पनि लिम्बुवानमा जातीय द्वन्द्व हुन नदिने प्रतिवद्धता दोहोर्‍याउँदै यदि संघीयता र लिम्बुवान भएन भने यसको विरोधीहरूलाई दण्डित गर्ने र संघीयता लिम्बुवान भएपछि पनि लिम्बुवानमा जातीय हिङ्सा भएमा आफूहरू नै जिम्मेवार भई दण्डित हुन तयार हुनेसमेत बताउनु भयो ।
प्रमुख अतिथिको सम्बोधन पछि स्थानीय तथा लिम्बुवान आइडल र राष्ट्रिय कलाकारहरू मन थलङ, तुलसा आङ्देम्बे, एलबी सुब्बा, लक्ष्मण लिम्बू, स्मारिका श्रेष्ठ, सुवास थेबे, सुजन थापा मगर, पुष्पराज श्रेष्ठ एवम् राष्ट्रिय कलाकारहरू खगेन्द्र यक्सो र कुशल थलङले विभिन्न लिम्बुवानी साङ्गीतिक प्रस्तुतीहरू गरेर सम्पूर्ण सहभागीहरूलाई बेलुकी अबेरसम्म समावेशी इन्द्रेणी लिम्बुवानको स्वरुप र भावना झल्कने गरी मनोरञ्जनसमेत प्रदान गरेका थिए । यस कार्यक्रमलाई स्थानीय रेडियो मेन्छ्यायेम १०२.६ मेघाहर्जबाट लिम्बुवानभर सुनिने गरी र वेबसाइट नेपालीसमाचारडट्कम तथा फेसबुक पेज लिम्बुवानस्टेट वा लिम्बुवान नेपालबाट संसा भर सुन्न र हेर्न सकिने गरी प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो ।
आयोजक मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुमका सचिव राजकुमार खापुङ 'हाङ्सा'द्वारा उद्घोषण गरिएको यस आमसभालाई लिम्बुवान तेह्रथुमका जिल्ला अध्यक्ष देवनारायण सम्बाहाङ्फेले सम्पूर्ण अतिथि, कलाकार तथा सहभागी एवम् सहयोगी महानुभावहरूलाई हार्दिक धन्यवाद दिँदै सो आमसभा भव्यरुपले सफल भएको घोषणा गर्दै कार्यक्रमको समापन भएको थियो ।

No comments: