News

Apr 12, 2012

लडाकुहरू हतियार बुझाउन व्यस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ३० - मुलुकभर सबैजसो शिविरका लडाकु बुधबार दिनभर आफूसँग रहेका र कन्टेनरका हतियार नेपाली सेनालाई बुझाउन व्यस्त रहे । कैलालीको तालबन्दस्थित माओवादीको सातौं डिभिजनका लडाकुले सेनालाई आफूसँगका र कन्टेनरका हतियार विशेष समिति सचिवालयको रोहवरमा बुझाएका छन् । कैलालीको तेघरीस्थित सेनाको ५ नम्बर बाहिनीलाई सातौं डिभिजनका लडाकुले सुरक्षामा रहेका ७५ र कन्टेनरमा राखिएका ३ सय ६३ थान हतियार बुझाएका हुन् । तेघरी ब्यारेकबाट मंगलबार नै नेपाली सेनाको टोली सातौं डिभिजनको मुख्यालय तालबन्द पुगेको थियो । तेघरी ब्यारेकका कर्णेल अर्जुन खड्काले मंगलबार बेलुकादेखि सेनाको मातहतमा मुख्य शिविर तालबन्दलगायत सहायक शिविर गोरंगे र बैडपुरको सुरक्षा जिम्मेवारी आइसकेको बताए । राति हावाहुरी चलेकाले बुधबार बिहानदेखि मात्रै हतियार बुझाउने काम सुरु गरिएको डिभिजनका सहकमान्डर नेपबहादुर चौधरीले बताए । 'दिगो शान्ति र संविधानका लागि जनमुक्ति सेनाले त्याग गर्‍यो,' उनले भने ।

No comments: