News

Apr 10, 2012

प्रमुख दलका शीर्ष नेताहरू गोप्य बैठक बस्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २८ - प्रमुख दलका शीर्ष नेताहरूले शान्ति प्रक्रियामा टुंगिन बाँकी विषय र संविधान निर्माणमा सहमति जुटाउन मंगलबार गोप्य बैठक बस्ने तयारी गरेका छन् । बैठकका लागि भनेरै डोटीबाट सोमबार र्फकंदै गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल मौसम खराबीका कारण भैरहवामा रोकिएका छन् । कांग्रेस सभापति सुशील कोइराला पनि बैठकमा सहभागी हुन भन्दै एक दिनको कार्यक्रम छोट्टयाएर राजधानी फर्केका छन् । उनी मंगलबार र्फकने कार्यक्रम थियो । स्रोतका अनुसार दाहाल राजधानी आएलगत्तै बैठक बस्ने तयारी गरिएको छ । बैठकका लागि दलहरूले एकान्त ठाउँ खोजी गरे पनि टुंगो लागिसकेको छैन । तर पनि धुलिखेलमा बैठक हुने सम्भावना छ । एक कांग्रेस नेताका अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईले ९ बजे नै धुलिखेल पुग्ने गरी बैठक बस्ने खबर गरेका थिए । मंगलबारको बैठकको तयारीका लागि कांग्रेस-एमालेको सोमबार छुट्टै छलफलसमेत भएको थियो । कांग्रेस-एमाले शान्ति प्रक्रियालगायत संविधान निर्माणमा पनि एकमत बनाउने प्रयासमा छन् । शान्ति प्रक्रिया टुंगिने अवस्थामा पुगेको र चैतभित्रै कुनै हालतमा शिविर खाली हुने भन्दै प्रधानमन्त्रीकै सक्रियतामा संविधान निर्माणका विषयमा छलफल अघि बढाउन बैठक राखिएको हो । कांग्रेस-एमाले छलफलका लागि तयार देखिए पनि चैत ३० अघि संविधान निर्माणका शासकीय स्वरूप र संघीयताको विषयमा सहमति नजनाउने संकेत दिएका छन् । 'चैत ३० सम्म समायोजन सम्पन्न हुन्छ कि हुँदैन भन्ने शंका अझै छ,' कांग्रेसका एक नेताले भने, 'छलफल भए पनि शासकीय स्वरूप र संघीयताबाहेक नमिलेका मुद्दामा हुनेछ ।' उनले शान्ति प्रक्रिया टुंगिएपछि मात्रै शासकीय स्वरूप र संघीयतामा सहमति हुने बताए ।

No comments: