News

Aug 6, 2009

चीनले ६० नाघेका किसानका लागि निवृत्तिभरण योजना ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनले ६० वर्ष नाघेका किसानका लागि विशेष निवृत्तिभरण योजना ल्याउने भएको छ । सहरका जागिरेले पाएजस्तै किसानलाई प्रदान गरिने त्यस्तो सुविधा अक्टुबरसम्ममा देशभर लागू हुने सरकारले जनाएको छ । सो कार्यक्रमबाट चीनका ९० करोड किसान लाभाविन्त हुनेछन् ।चीन सरकारको मानव संसाधन तथा सामाजिक सुरक्षा विभागका सहायकमन्त्री हु जियाओयीले ६० वर्ष नाघेका किसानलाई मासिक निवृत्तिभरण प्रदान गरिने बताए । निवृत्तिभरण रकम सम्बन्धित क्षेत्रको आयस्तरअनुसार फरक हुने उनले जानकारी दिए । 'किसानलाई दिन लागिएको सुविधा किसान स्वयं तथा सरकारी कोषबाट पूर्ति हुनेछ,' उनले भने ।सरकारले दिने सहायता दुई प्रकारका हुनेछन् । पहिलोखाले सहयोग जसलाई आधारभूत भनिएको छ, त्यसअन्तर्गत सरकारी कोषबाट सहयोग प्रदान गरिनेछ भने अर्का योजनामा किसानले नै जम्मा गरेको व्यक्तिगत पेन्सन योजनाको रकमबाट सहयोग प्रदान गरिनेछ । वृद्धा अवस्थाका किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले सन् १९९० देखि चीनमा यस्तैखाले योजना सञ्चालन भइरहेको छ । योजनामा किसानले नै जम्मा गरेको रकमबाट वृद्धा अवस्थामा पुगेका किसानलाई सहयोग दिइँदै आएको थियो । किसानले आफ्नै रकमबाट जम्मा गर्ने भएकाले सो योजना खासै सफल भएको छैन । पुरानो योजना विफल भएकाले नयाँ योजना ल्याइएको हुले बताए । गत जुनमा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले परीक्षणका रुपमा १० प्रान्तमा यस्तो योजना लागू गरिने घोषणा गरेका थिए । यस्तो योजनाका लागि सरकारले ३ अर्ब युआन छुट्याएको छ । विनियोजित रकम प्रान्तमा प्रचलित निवृत्तिभरण कानुनअनुसार, फरक भएको बताइएको छ । नयाँ योजनामा १६ वर्ष उमेर नाघेका विद्यार्थी जो जागिर छैनन् उनीहरू पनि सहभागी हुन सक्नेछन् । सरकारले लागू गर्न थालेको योजनासँग मिल्दोजुल्दो परियोजना केही प्रान्तहरूमा २००३ देखि नै सञ्चालन भइरहेको छ । दोङहाई प्रान्त यस्तो योजना लागू भएका प्रान्तमा सफल प्रान्त हो । योजनामा सहभागी वाङ तोङहुवा निकै खुसी छन् । 'सहरका जागिरेहरूले वृद्धावस्थामा पाउने निवृत्तिभरण देख्दा मलाई सधैं लोभ लाग्थ्यो', उनले भने, 'गत वर्षदेखि म आफैंले यस्तो सुविधा पाएको छु ।' दोङहाईमा २००८ मा प्रदान गरिएको निवृत्तिभरणबापतको सहयोग स्थानीय प्रतिव्यक्ति आयमा आधारित थियो । त्यसमा २० प्रतिशत रकम प्रान्तीय सरकारले प्रदान गरेको थियो भने ८० प्रतिशत रकम किसानले जम्मा गरेको कोषबाट व्यहोरिएको थियो । गत वर्ष प्रदान गरिएको न्यूनतम सहयोग ८ सय युआन बराबर थियो । 'मलाई खुसी लागेको छ, अब किसानले पनि पेन्सन पाउनेछन्,' सुजोउ प्रान्तको ताङवेइका ६३ वर्षीय चेन दाजिन भन्छन्, 'अहिले हामी दम्पतीले महिनाको ३०० युआन पेन्सन पाइरहेका छौं ।' जियाङसुको सुजोउ प्रान्तमा पर्ने स्थानीय सरकारले ६० वर्षमाथिका पुरुष र ५५ वर्षमाथिका महिलालाई त्यस्तो सुविधा दिंदै आएको छ । परिमार्जित परियोजना कार्यान्वयन गर्नका लागि न्यून आयस्रोत भएका जिल्ला तथा प्रान्तका गाउँ विकास समितिलाई केही समस्या पर्ने बताइएको छ । न्यून आय भएका स्थानीय सरकारसँग नयाँ योजना प्रवर्द्धन गर्ने क्षमता नहुन सक्छ,' राज्य परिषद्को विकास अनुसन्धाता डिङ यिफानले भने, 'यो समस्याले केही विभाग सरकारी योजना लागू गर्न उत्साही छैनन् ।' विभिन्न अप्ठ्यारा भए पनि सरकारको महत्वाकांक्षी योजना लागू भएका खण्डमा यसले चीनको सामाजिक सुरक्षा प्रणालीमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ । योजनाले किसानलाई कृषि कार्यतर्फ आकषिर्त गर्ने विश्वास लिइएको छ ।

No comments: