लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २२- भोटाहिटीमा ६ जनाको मृत्यु हुने गरी कार दुर्घटना गरेका कार चालक विप्वलमान सिंहले बुधबार राति प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। खिचापोखरीस्थित आफ्नै घरमा जन्मदिनको पार्टी सकेर आफन्तलाई घरमा पुर्याउन जाने बेलामा गाडी अनियन्त्रित भई दुर्घटना भएको बयान सिहले प्रहरी समक्ष दिएका छन्। एसपी नवराज सिलवालका अनुसार बुधबार राति साढे ११ बजे सिंहले आत्मसमर्पण गरेका हुन्। चालकलाई सामान्य चोटपटक मात्र लागेको एसपी सिलवालले जानकारी दिए। गाडी नै क्षतविक्षत हुने गरी दुर्घटना भए पनि चालक सिहको अवस्था भने सामान्य रहेको सिलवालले बताए। सिंहले गाडी आफैले चलाएको र गाडीको गति अत्याधिक भएको कारण नियन्त्रणमा आउन नसकी दुर्घटना भएको बयान प्रहरी समक्ष दिएका छन्। "अस्ति राति २० औं जन्म दिनको पार्टी घरमा मनाएको थिएँ। खाने र पिउने काम भयो। ११ बजेपछि साथीहरुलाई घर पुर्याउन जाने क्रममा दुर्घटना भयो" - सिहले प्रहरी समक्ष बयानमा भनेका छन्।न्युरोडबाट आई क्षेत्रपाटीस्थित साथीको घरमा पुर्याउने बेला दुर्घटना भएको सिहले बताएका छन्।प्रहरीले उनीसँग कारमा सवार अन्यलाई बिहीबार बयानका लागि बोलाउने तयारी गरिरहेको छ। चालक सिहले गाडीमा सवारहरु आफ्ना सबै आफन्तहरु सकुशल रहेको बताएका छन्।प्रहरीकाअनुसार सिहले कार दुर्घटना हुँदा आफूसहित ४ जना कारमा भएको बताएका छन्। गाडी ब्याक गरेर किचेको भनेर पुष्टि हुने अवस्था नरहेको पनि एसपी सिलवालले जानकारी दिए। "सिधै डाइरेक्ट हिट गरेको हो" - सिलवालले भने।चालक सिहलाई हनुमान ढोका प्रहरी परिसरमा राखिएको छ। चालक सिह एभरेष्ट कलेज थापाथलीबाट १०+ २ उतिर्ण विद्यार्थी हुन्।मादक पदार्थ सेवन गरेका चालकले तीव्र गतिमा गुडाएको निजी कारले बुधबार बिहान ठक्कर दिँदा काठमाडौं रत्नपार्कनजिक छको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मृत्यु हुनेमध्ये पाँच काठमाडौंमा व्यापार गर्दै आएका भारतीय नागरिक छन् भने एक नेपाली किशोर छन्। काठमाडौं खिचापोखरी घर भएका २१ वर्षीय विनय डंगोल भनिने विप्लवमान सिंहले चलाएको बा ४ च ८०३० नम्बरको होन्डा सिटी कारले राति पौने १ बजे उनीहरूलाई ठक्कर दिएको थियो।मृत्यु हुनेमा भारत कसवा मेहसी घर भई काठमाडौं कमलाक्षी बस्दै आएका ५० वर्षीय धर्मनाथ सिंह र उनकी श्रीमती ४६ वर्षीया बिना सिंह छन्। भारत सीतामढी घर भई कमलाक्षी नै बस्दै आएकी ४० वर्षीया कृष्णादेवी गुप्ता, उनका १५ वर्षीय छोरा सञ्जय गुप्ता र आफन्त २९ वर्षीय मदन गुप्ता पनि दुर्घटनामा मारिएका छन्। मृत्यु हुने नेपाली सिन्धुपाल्चोक पोखरे घर भई खिचापोखरीमा काम गर्दै आएका सुजन श्रेष्ठ हुन्। भोटाहिटी सब वेको पश्चिम गेटअगाडि गाडीले ठक्कर दिएपछि प्रहरीले तत्कालै उनीहरूलाई वीर अस्पताल लगेको थियो। त्यहाँ उनीहरू सबैलाई चिकित्सकहरूले तत्कालै मृत घोषित गरेका थिए। कारको ठक्करबाट भारत सीतामढी घर भई कमलाक्षी बस्दै आएका २८ वर्षीय दीपक गुप्ता गम्भीर घाइते भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज सिलवालका अनुसार दीपकको महाराजगन्ज बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।मंगलबार साँझ ७ बजेतिर किशोर सञ्जय गुप्तालाई पेटमा समस्या भएपछि सिंह र गुप्ता परिवारका ५ सदस्य वीर अस्पताल पुगेका थिए। सञ्जयको उपचारपछि घर फर्कने क्रममा भोटाहिटी सबवेमा पुग्दा अति तीव्र गतिमा सहिदगेटतर्फबाट जमलतिर गइरहेको कारले उनीहरूको समूहलाई ठक्कर दिएको थियो। मृतक श्रेष्ठ भने घटनास्थल नजिकै बस्ने भएकाले त्यहाँ पुगेको हुनसक्ने देखिएको छ। वीर अस्पतालमा रहेका मृतकका शवलाई प्रहरीले पोष्टमार्टमका लागि बुधबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल लगेको छ। प्रत्यक्षदर्शीका अनुसार रत्नपार्कमा खटिएका चार प्रहरीले तत्कालै घाइतेहरुलाई उठाएका थिए भने सोहि मौकामा ठक्कर दिने गाडिबाट ओर्लिएका युवाहरु फरार भएका थिए।प्रहरी उपरिक्षक सिलवाल भन्छन्, 'यस्तो अवस्थामा प्रहरीको पहिलो दायीत्व घाइतेको उद्दार नै थियो। त्यसैले हाम्रा सुरक्षाकर्मी उद्दारमा लागे। उद्दारपछि हामीले तत्कालै दोषीहरुको खोजी सुरु गरेका हौं।' सिलवालका अनुसार अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले गाडि तिब्र गतिमा रहेको र चालकले मादक पदार्थ सेवन गरेको तर्फ संकेत गरेको छ। गाडिले ठक्कर दिँदा सडक पेटीका दुई वटा फलामे बार भाँचिएका छन् भने त्यसपछि उछिट्टिएको गाडिले सब वेको च्यानल गेटमा ठक्कर दिँदा भइँको सिमेन्ट उक्किएको छ। ठक्करबाट गाडिको अगाडि, पछाडि र ड्राइभरको साइड क्षतविक्षत भएको छ।विप्लवले चलाएको गाडी सय किलोमिटर प्रतिघन्टाभन्दा बढी गतिमा रहेको प्रहरी र प्रत्यक्षदर्शीको भनाइ छ। काठमाडौंको सडकमा कति गतिमा सवारी चलाउन पाइने भन्ने नियम स्पष्ट छैन। ठक्कर दिएको गाडी प्रहरीले तत्काल नियन्त्रणमा लिई महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा राखेको छ। बुधबार दिउँसो अवलोकन गर्दा गाडीको ठक्कर खाएको भागमा रगतका टाटा देखिएका थिए भने गाडीभित्र फुटेका चुराका टुक्रासमेत फेला परेका छन्। एउटा कम्मरपेटीको टुक्रा र मिनरल वाटरको बोतलसमेत गाडीमै छन्। गाडीमा नगरकोट ठेगानाको एक रसिद फेला परेकाले चालक विप्लव साथीहरूसँगै नगरकोट गएर मादक पदार्थ सेवन गरी फर्किएको हुनसक्ने प्रहरीको आशंका छ।घटनाका प्रत्यक्षदर्शी गोविन्द अधिकारी भन्छन्, 'गाडीको अगाडि एउटा बाइक गइरहेको थियो। बाइकलाई ओभरटेक गर्न खोज्दा सडकको किनारामा हिँडिरहेका उनीहरूलाई ठक्कर दियो।' उनका अनुसार चर्को संगीत बजाउँदै आएको गाडीले ठक्कर दिँदा केही १० मिटर परसम्म उछिट्टिएका थिए। भित्तामा ठोक्किएपछि तीव्र गतिको गाडी सडकमा केहि फन्का घुमेको थियो र घाइतेहरूलाई थप ठक्कर दिएको थियो।आफ्ना गाउँले साथी भेट्न वीर अस्पताल पुगेका जुम्ला घर भएका अधिकारी राति बाहिर निस्कँदा त्यो भयावह घटना देखेका थिए। 'गाडी ठोक्किएपछि बाइकवालाले त्यो गाडीबाट ओर्लिएको एउटा केटालाई समाते,' अधिकारीले भने, 'तर अरु दुई जनाले छुटाएर जमलतिर भागे।' उनका अनुसार गाडीबाट ओर्लिएका तीनमध्ये एकले लामो कपाल पालेको थिए।आमाको नाममा रहेको बा ४ च ८०३० नम्बरको कार लिएर विप्लव घुम्न निस्किएको उनको परिवारले प्रहरीसमक्ष स्वीकार गरेको थियो। विप्लव फरार भएपछि प्रहरीले उनका बुबा र दाजुसँग सम्पर्क गरेको थियो। बुबा र दाइले विप्लवलाई प्रहरी समक्ष बुझाउने र अनुसन्धानमा सहयोग गर्ने बताएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विप्लवको परिवारले पीडितहरूलाई क्षतिपूर्ति दिन पनि प्रहरीसमक्ष स्वीकार गरेको छ।यसैबीच पीडित परिवार, आफन्त र अन्य सर्वसाधारणले घटनाको विरोधमा रत्नपार्क र भोटाहिटी क्षेत्रमा दिनभर प्रदर्शन गरे। प्रदर्शनका कारण राजधानीको भित्री भाग भएर चल्ने सबै रुटका सार्वजनिक यातायात प्रभावित भए। सडकमा विरोध प्रदर्शन गरेकाहरूले कार चालक तत्काल पक्राउ पर्नु पर्ने र पीडित परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए।
१) सिन्धुपाल्चोक पोखरेका १७ वर्षीय सुजन श्रेष्ठ ............ मृत्यु।
२) भारत सितामढी घर भई हाल का.जि वाङ्गेमुढा बस्ने वर्ष २९ को मदन गुप्ता......................मृत्यु ।
३) भारत कसवा नेन्सी घर भएको वर्ष ५० को धर्मराज सिंह ...........................................मृत्यु ।
४) भारत सितामढी घर भई हाल का.जि बाङ्गेमुढा बस्ने वर्ष १५ को संजय गुप्ता ..............मृत्यु ।
५) भारत मोतीहारी घर भई हाल का.जि कमलाक्षी बस्ने वर्ष ४६ की बीना सिंह ....................मृत्यु ।
६) भारत सितामढी घर भई हाल कमलाक्षी बस्ने वर्ष ४० की कृष्णादेवी ............................. मृत्यु ।
७) भारत सितामढी घर भई हाल बाङ्गेमुढा बस्ने वर्ष २८ को दीपक गुप्ता ............................ गम्भीर ।
२) भारत सितामढी घर भई हाल का.जि वाङ्गेमुढा बस्ने वर्ष २९ को मदन गुप्ता......................मृत्यु ।
३) भारत कसवा नेन्सी घर भएको वर्ष ५० को धर्मराज सिंह ...........................................मृत्यु ।
४) भारत सितामढी घर भई हाल का.जि बाङ्गेमुढा बस्ने वर्ष १५ को संजय गुप्ता ..............मृत्यु ।
५) भारत मोतीहारी घर भई हाल का.जि कमलाक्षी बस्ने वर्ष ४६ की बीना सिंह ....................मृत्यु ।
६) भारत सितामढी घर भई हाल कमलाक्षी बस्ने वर्ष ४० की कृष्णादेवी ............................. मृत्यु ।
७) भारत सितामढी घर भई हाल बाङ्गेमुढा बस्ने वर्ष २८ को दीपक गुप्ता ............................ गम्भीर ।
No comments:
Post a Comment