लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २३ - तराई-मधेश लोकतान्त्रिक पार्टीका सह-महामन्त्री तथा सभासद रामकुमार शर्मा शुक्रबार एकीकृत माओवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।तमलोपा क्रान्तिकारी पार्टी हुन नसकेको तथा जमिन्दार,पूँजीपती र सामन्तको घेराबन्दीमा पर्दै गएकोले आफूले उक्त पार्टी परित्याग गर्न लागेको शर्माले ई-कान्तिपुरलाई बताए । भूमिगतकालमा पाँच वर्ष सम्म माओवादीको भातृसंगठन मधेशी मुक्ति मोर्चाका सर्लाही महोत्तरी ईन्चार्ज समेत रहेका शर्मा माओवादी छाडेर उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । पहिलो मधेश आन्दोलनमा फोरमको महासचिव भएर भूमिका निर्वाह गरेका उनी फोरम र सरकारबीचको वार्तापछि असन्तुष्ट हुँदै फोरम परित्याग गरी फोरम भाग्यनाथ गुप्ता समूहमा उपाध्यक्ष थिए । तमलोपाको गठनपछि उनी त्यसपार्टीमा प्रवेश गरेका थिए । संविधानसभामा तमलोपाबाट टिकट पाएर उनी महोत्तरी -४ बाट निर्वाचित भएका थिए । तमलोपालाई सरकारमा सहभागी गराउन विशेष लविङ गरेका गरेका शर्मा मन्त्रीमण्डलमा पार्टीबाट नपरेपछि असन्तुष्ट बनेको तमलोपा स्रोतले जनाएको छ । पार्टी उपाध्यक्ष हृदयश त्रिपाठीले शर्मा मन्त्रीमण्डलमा सहभागी नभएदेखि असन्तुष्ट बनेको प्रतिक्रिया दिए । उनले पार्टीको सदस्य गुमाउँदा दुःख लागेपनि शर्माले पार्टीलाई लगाएको आरोप निराधार रहेको बताए ।
No comments:
Post a Comment