लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एलसी काण्डका दोषी प्रकाश टिवडेवालाले लागेको जरिवाना १२ करोड रुपियाँ नबुझाउने भएपछि दैनिक ८३ हजार रुपियाँ काटिने गरी उनलाई जेलमा पठाइएको छ। विदेशी विनिमय अपचलन गरेको न्यायालयबाट ठहर भएपछि टिवडेवाला भागीभागी हिँडेका थिए। उनलाई सो अभियोगमा १२ करोड १३ लाख ७९ हजार ३ सय ५५ रुपियाँ जरिवाना हुने ठहर न्यायालयले गरेको थियो। प्रहरीको सहयोगमा काठमाडौं जिल्ला अदालतको तहसिल शाखाले बिहीबार पक्राउ गरेपछि हिजो शुक्रबार लागेको जरिवाना तिर्ने/नतिर्ने भनी टिवडेवालालाई सोधपुछ गरिएको थियो। सो रकम नतिर्ने बताएपछि सो अदालतले टिवडेवालालाई चार वर्षजेल बसाउने गरी सदरखोर डिल्लीबजारलाई पत्र लेखेको छ। उनलाई उक्त पत्रसँगै सो कारागार शुक्रबार नै पठाइएको छ।जतिसुकै ठूलो परिमाणको जरिवाना हुने भए पनि नतिर्ने हो भने बढीमा चार वर्षजेल हाल्नुपर्ने कानुनी व्यवस्था छ। काठमाडौं जिल्ला अदालतका तहसिलदार चित्रबहादुर केसी कानुनमा नै बढीमा चार वर्षजेल हाल्नुपर्ने व्यवस्था भएपछि सोभन्दा बढी अवधिका लागि सिफारिस गर्न नमिल्ने बताउनुहुन्छ। टिवडेवालामाथि १२ वटा मुद्दा लागेको थियो। ती सबै मुद्दामा न्यायालयले ठहर गरी उनीबाट करोडौं रुपियाँ जरिवाना तोकेको हो। चार वर्षजेल बस्दा १२ करोड १३ लाख ७९ हजार ३ सय ५५ रुपियाँबाट दैनिक ८३ हजार १ सय ३६ रुपियाँ ५५ पैसा कट्टा हुने देखिएको छ।कानुनमा एक दिनको २५ रुपियाँ मात्र काट्नुपर्ने उल्लेख छ भने अर्कोतर्फबढीमा चार वर्षमात्र जेल हाल्नुपर्ने व्यवस्था गरिएको छ। काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशले नेपाल समाचारपत्रसँग भने- ‘थोरै जरिवाना हुन्छ भनेर बनाइएको हो त्यो कानुन। त्यसैको फाइदा लिई टिवडेवालाले करोडौं रकम नतिर्ने भएका हुन्।’
No comments:
Post a Comment