लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १९ प्रधानमन्त्री माधवकुमार नेपालले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्यको सोमबार शिलान्यास गरेका छन्। सुरुङको अन्तिम विन्दु काठमाडौंको सुन्दरीजलमा सोमबार आयोजीत विशेष कार्यक्रममा मन्त्रोच्चारणसँगै प्रधानमन्त्री नेपालले सुरुङ निर्माणकार्यको थालनी गरे। आयोजनाको महत्वपूर्ण निर्माण कार्य साढे २६ किलोमिटरको सुरुङ मार्ग निर्माणलाई नै मानिँदै आएको छ । अम्बाथान ग्याल्थुम सिन्धु हुँदै सुन्दरीजलसम्मको डाइभस्रन सुरुङ खन्ने कार्यक्रम एक साथ यी चार ठाउँबाट सुरु हुनेछ।निर्माण कार्यको ठेक्का पाएको चाइना रेलवे फिफ्टिन ब्यूरो ग्रुप कर्पोरेसन र चाइना सिएम्आइआईसी इन्जिनियरिङ्ग कर्पोरेसनले झण्डै चार वर्ष चार महिना १५ सय ९६ दिन मा सुरुङ निर्माण पुरा हुने जनाएको छ । सुरुङको ५ किलोमिटर भाग काठमाडौं भित्र पर्छ भने बाँकी सिन्धुपाल्चोक जिल्लामा पर्छ।शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेपालले काठमाडौं उपत्यकामा खाने पानी सेवाका लागि धेरै विकल्प अपुग भइरहेको समयमा मेलम्ची सरकारको उच्च प्राथमिकतामा रहेको बताए । आयोजना सुरु भएको १३ वर्ष वितिसक्दा पनि निर्माणकार्य पुरा नहुँदा निर्माण लागत बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, "लागत बढे ऋण हाम्रै थाप्लामा बढ्दै जाने हो त्यसैले यो पटक निर्माण कार्य समयमा नै सक्नुपर्छ विकास निर्माणका काममा सबैले सहयोग गर्नु पर्दछ।"उनले लामो द्वन्द्व र त्यसपछिको संक्रमणकालमा ठूला आयोजनामा दातृ निकायलाई आकर्षित गर्न नसकेको स्विकार गर्दै प्रधानमन्त्रीले मेलम्ची आयोजनाको सफल निर्माण गरेर दातृ संस्थाहरुको आकर्षण बढाउनु पर्ने बताए।उनले खानेपानी समस्याका कारण हुने रोग रोकथाम गर्न सरकारले वर्षेनी लाखौं खर्च गरिरहेको उल्लेख गर्दै सबैलाई स्वच्छ खानेपानी पुर् याउनु सरकारको प्रमुख दायीत्व मध्ये एक भएकाले योजनावद्ध विकास गर्न भौतिक योजना तथा निर्माण मन्त्रालयलाई निर्देशन दिनुभयो।एशियाली विकास बैंक र जापानी सहयोग नियोग जाइकाको सहयोगमा तेह्र वर्ष अघि थालनी गरिएको परियोजनाको निर्माण सक्ने अवधि द्वन्द्वका कारण पटक पटक सर्दै गएको हो । अहिलेसम्म परियोजनाका लागि जग्गा अधिग्रहण र मुख्यनिर्माणस्थल र अन्य क्याम्पहरु पुग्ने सडक निर्माण कार्य भने सकिएको छ।मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष एवं भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कडरियाले निर्माणमा लामो समय लाग्दा परियोजनाबारे नै शंका उठेको अवस्थामा सुरुङको शिलान्यासपछि त्यो हटेको दावी गरे।सन् २००८ मा निर्माण लागत परिमार्जन हुँदा ३१ करोड ७० लाख डलरमा मेलम्चि आयोजना पुरा गर्ने बताइएको छ। आयोजना अन्तर्गतको सुरुङ निर्माणमा मात्र करिब ५ करोड अमेरिकी डलर खर्च हुनेछ।
No comments:
Post a Comment