लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १८ सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झालाई पदमा रही काम गर्नबाट रोक्न अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धी छलफलका लागि बोलाएको छ । न्यायाधीश भरतराज उप्रेतीको एकल इजलासले झालाई आफ्ना वकिलमार्फत अदालतमा उपस्थित हुन आदेश दिएको हो । अन्तरिम आदेशको छलफलका लागि साउन २७ गते तोकिएको छ ।सर्वोच्चले हिन्दी भाषामा उपराष्ट्रपतिको सपथ गैरसंवैधानिक भएको निर्णय गर्दै गत साउन ९ गते बदर गरेको थियो । झा नेपालीमा सपथ नलिने अडानमा छन् ।नेपाली भाषामा सपथ नलिई पदभार ग्रहण गर्न नमिल्ने भएकाले उपराष्ट्रपति झालाई पदबाट हटाउन माग गर्दै नवराज न्यौपाने र विष्णुप्रसाद बाँस्तोलाले मंगलबार संयुक्त रुपमा दिएको रिटमा त्यस्तो आदेश आएको हो ।इजलासले उपराष्ट्रपतिलगायत राष्ट्रपतिको कार्यालय मन्त्रिपरिषद्को कार्यालय प्रधानमन्त्रीलाई पनि छलफलका लागि अदालतमा उपस्थित हुन आदेश दिएको हो ।अदालतले उपराष्ट्रपति झालाई के कति कारणले पदमा बसी काम गर्न दिन हुने नहुनेबारे लिखित जवाफ पेस गर्न पनि ती निकायका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।हिन्दी भाषामा लिएको सपथ अदालतले बदर गरिसकेको अवस्थामा नेपालीमा फेरि सपथ नलिई पदमा बस्ने अधिकार नभएको हुँदा उपराष्ट्रपतिको हैसियतबाट काम गर्न रोक लगाउन तत्काल अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको थियो । सर्वोच्चको आदेश नमान्ने भन्दै आएका उपराष्ट्रपति झाले सबै सुविधा लिइरहेका छन् ।
No comments:
Post a Comment