लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/प्रकाश के.सी.
Aug 2 जोर्डनस्थित याक एण्ड यती रेस्टुरेन्टमा हङकङ नेपाली महासंघले एक वधाइ तथा विदाइ कार्यक्रमको आयोजना गरी हङकङ नेपाली महावाणिज्यदूत केशव प्रसाद भट्टराईलाई सचिव पदमा बढुवा भएकोमा वधाइ दिई तथा सोही पदको कार्यभार सम्हाल्नका लागि मन्त्रालय जान थालेकाले विदाइ गरेको छ । महासँघका सम्पूर्ण संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता महासंघका वर्तमान अध्यक्ष हेम लिम्बूले गरेका थिए । महावाणिज्यदूत केशव प्रसाद भट्टराई, श्रीमती भट्टराई, नेपाली वायुसेवा निगमका हङकङ प्रवन्धक किरण पन्त, वाणिज्यदूत सुशील लम्साल, महासंघका पूर्व अध्यक्ष द्वय हेजेन राई, गणेश इजम मञ्चमा आसीन थिए । संघका महासचिव वसन्त निरौलाबाट सञ्चालित उक्त कार्यक्रमलाई उपाध्यक्ष हर्क रानामगरले स्वागत मन्तव्य दिएका थिए ।पुष्पगुच्छाहरु भट्टराई दम्पत्तिलाई प्रदान गरेपछि अध्यक्षको हातबाट हङकङमा आफ्नो २२ महिने कार्यकालमा अति नै मिलनसार, कर्तव्यनिष्ट भएका महावाणिज्यदूत भट्टराईलाई हङकङ नेपालीको तर्फबाट महासंघले सम्मानपत्र प्रदान गर्यो । त्यस्तै महासंघका पूर्व अध्यक्षद्वय हेजेन राई, गणेश इजम र वर्तमान अध्यक्ष हेम लिम्बूले संयुक्त रुपमा महासंघको तर्फबाट सोभेनियर प्रदान गरेका थिए ।महासंघका पूर्व अध्यक्षद्वय गणेश इजम, हेजेन राई, किराँत राई यायोक्खाका अध्यक्ष नरहाङ राई, जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, नेपाली साहित्य प्रतिस्थानका अध्यक्ष टंक सम्वाहाम्फेले आआफ्ना मन्तव्यहरु राखेका थिए । हङकङेली नेपाली समाजमा सहिष्णुताको प्रदर्शन गरेका अर्का पूर्व महावाणिज्यदूत माधव घिमिरेलाई पनि यसैगरी हङकङ नेपाली महासंघले सम्मान गरी विदाइ गरेको र उनको उत्तरोत्तर प्रगतिको कामना गरेको अनि आज माधव घिमिरेको मुख्य सचिवमा भएको वढुवामा हङकङ नेपाली महासंघ अत्यन्तै प्रफुल्ल भएको भन्दै सचिव पदमा वढुवा भएर जान थालेका भट्टराईको उत्तरोत्तर प्रगतिको कामना आफूहरुले गरेको र भविष्यमा घिमिरेको जस्तै प्रगतिको आशा राखेका लगभग सबै वक्ताहरुले मन्तव्यको क्रममा बताएका थिए । केही वक्ताहरुले अघिल्ला कावा महावाणिज्यदूत हेमलाल भट्टराईको कार्यकालको लगभग अन्तिम समयमा दूतावाससँग सम्वन्ध केही चिसिएको पनि बताएका थिए । जनजाति महासँघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङले महावाणिज्यदूतको पदलाई वहाल गर्न आउँदै गरेका केशव प्रसाद भट्टराई को आगमनको आफूहरुले जनजातिकै महावाणिज्यदूत चाहिन्छ भनेर बारम्बार माग गरेको तर त्यसअनुसार नभएकोले विरोध गरेको पनि मन्तव्यमा ल्याएका थिए । समानुपातिक आधारमा हङकङमा अत्यधिक जनजाति नेपालीहरुको बसोबास भएकोले आफ्नो उक्त माग जो आजपर्यन्त यथावत छ, जायज भएको बताएका थिए ।कार्यक्रमको लगभग अन्त्यमा प्रमुख अतिथि भट्टराईले आफ्नो २२ महिने कार्यकालमा भएका अनुभवहरुको केही चर्चा गर्दै हङकङ नेपाली महासँघले दिएको यस सम्मान तथा विश्वासले गर्दा भविष्यमा अझै राम्रा कार्यहरु गर्दै समाजको मन जित्ने प्रयास गर्ने बताएका थिए । त्यसपछि, कार्यक्रमका अध्यक्ष हेम लिम्बूले उपस्थिति सबैलाई धन्यवाद दिँदै आफ्नो सानो मन्तव्यपछि कार्यक्रमको उक्त औपचारिकताको समाप्ती गरेका थिए । रात्रिभोजको कार्यक्रम त्यसपछि रातको अबेरसम्म चलेको थियो ।
No comments:
Post a Comment