News

Oct 25, 2009

माओवादीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने सर्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ९- संसदको गतिरोध अन्त्यको लागि राष्ट्रपतिको कदमको विषयमा छलफल भइरहेको बेला एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने सर्त सारेको छ।माओवादीले आइतबार सत्ता साझेदार दलहरू एमाले र नेपाली काग्रेससँग गरेको छुट्टाछुट्टैको भेटमा 'समग्र समस्यालाई प्याकेजमै डिल गर्ने' प्रस्ताव राखेका थिए। माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको शान्तिनगरस्थित निवासमा भएको वार्तामा 'माओवादी नेताहरूले नयाँ कुरा ल्याएको' एमाले वार्ता टोली संयोजक भरतमोहन अधिकारीले जानकारी दिए। उनले भने, 'अहिलेको सरकारको विकल्पको विषय ल्याउनुभयो।'सरकार परिवर्तनसम्मको प्रस्ताव माओवादीले सारेपछि अपराह्न काग्रेस र एमालेबीच भेटघाट भएको थियो। 'मिलिसकेको कुरामा माओवादीले नयाँ कुरा थपे, राम्रो चाला छैन भन्दै एमाले नेताहरू आए', काग्रेस उपसभापति रामचन्द्र पौडेलले भने।माओवादी स्थायी समिति बैठकले विद्रोहमा जाने निर्णय गरेको हुनसक्ने र त्यसैअनुरूप माओवादीले यस्तो सर्त अघि सारेको आशंका काग्रेस-एमाले वार्ताकारले गरेका छन्।'माओवादीको रवैया फेरिएको निष्कर्ष आयो', एमाले वार्ता टोली सदस्य उर्मिला अर्यालले भनिन्, 'उहाँ (माओवादी)हरू कुरा मिलाउने भन्दा पनि विद्रोह र प्रतिरोधमा जाने देखियो।' साँझ माओवादी र काग्रेसवीच भएको छलफलमा पनि माओवादीले सरकारको विकल्पदेखि सबै विषयमा 'डिल' गर्नुपर्ने सर्त दोर्‍याएको थियो। 'उनीहरुले प्याकेजकै कुरा गरे' काग्रेस उपसभापति पौडेलले भने, 'हामीले यो प्याकेज-स्याकेज छाड्नुस्, पहिले सदन खोल्नुस् भन्यौं।'आफ्नो सरकार नबन्दासम्म समाधानको बाटो रोक्ने सर्त स्वाभाविक नभएको जिकीर गर्दै पौडेलले भने, 'यो त अल्पमतले बहुमतलाई बन्धक बनाउने काम भयो, यस्तो गर्न छाड्नुस भन्यौं।'माओवादी नेता देव गुरूङका अनुसार माओवादीले तीन विकल्प सारेको छ। त्यसअनुसार पहिलो विकल्प राष्ट्रपतिको कदम असंवैधानिक भनेर साझा संकल्प प्रस्ताव ल्याउने हो। 'यसलाई नस्वीकार्ने भए सदनमा यस विषयमा छलफल गर्न दिनुस् जसले सदनको सर्वोच्चता कायम हुन्छ भन्ने हाम्रो दोस्रो विकल्प हो', उनले भने। उक्त दुईमा सहमति नहुँदा आफूले नयाँ सरकार गठन हुनुपर्ने तेस्रो विकल्प राखेको उनले प्रष्ट गरे।'दुबै विकल्पमा सहमति हुँदैन भने संयुक्त राष्टिय सरकार बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो', गुरूङले भने। आफनै नेतृत्वमा हुनुपर्ने भनेर छलफलमा नराखेको उनले दावी गरे। माओवादीले संविधानको औचित्य अन्त्य हुने गरी र नयाँ संविधान बन्न नदिने हिसाबले वाधा पुर्‍याइरहेको निष्कर्ष काग्रेस-एमाले वार्ताकारले निकालेका छन्। 'अल्पमतको बन्दी भएर बहुमत बस्न सक्दैन', अर्यालले भनिन्।शीर्ष नेताहरूको तहमै छलफल हुनुपर्नेमा दुबै पार्टीका नेताले जोड दिएका थिए। 'सम्भवतः भोलि (सोमबार) शीर्ष नेताहरूबीच छलफल हुन्छ', पौडेलले भने।यसैबीच काग्रेस र एमालेले सोमबार सत्ता गठबन्धन दलहरूको बैठक बोलाएका छन्।

No comments: