News

Oct 24, 2009

कांग्रेसले मन्त्रीहरूलाई फिर्ता बोलाउने वा सचेत गराउने प्रस्ताव ल्याउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ८ - कांग्रेसका पदाधिकारीसहित केही सदस्यको सहभागितामा बसेको अनौपचारिक बैठकले पार्टी केन्द्रीय समितिको आगामी बैठकमा 'मन्त्रीहरूलाई फिर्ता बोलाउने वा आइन्दा गल्ती नदोहोर्‍याउन सचेत गराउने' मध्ये एक प्रस्ताव ल्याउने निर्णय गरेको छ । पार्टीका प्रेस प्रमुख पुरुषोत्तम बस्नेतको निवासमा शनिबार अपराह्न कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दल नेता रामचन्द्र पौडेल, उपनेता प्रकाशमान सिंह, प्रवक्ता अर्जुननरसिंह केसीलगायतका नेताको उपस्थितिमा बसेको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । केन्द्रीय समिति, संसदीय दल र बाहिरबाट समेत सरकारबाट मन्त्रिहरूलाई फिर्ता बोलाउनुपर्ने दबाब बढेपछि नेताहरूले समाधान खोज्न केही दिनदेखि अनौपचारिक छलफल गर्दै आएका छन् । 'सबैको दबाब त मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने नै छ,' बैठकमा सहभागी एक नेताले कान्तिपुरलाई भने, 'तर गिरिजाबाबुसँग द्वन्द्व नचर्कने गरी सहज निकासका लागि पहल खोज्ने प्रयत्नमा छौं ।'प्रस्ताव ल्याउने निष्कर्षमा पुग्नुअघि सभापति कोइरालाको रायसुझाव लिनुपर्ने केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले कुरा उठाएका थिए । तर सहभागी अन्य नेताहरू 'गिरिजाबाबुले नमान्न सक्नुहुन्छ,' भन्दै दुईमध्ये एक प्रस्ताव ल्याउने निष्कर्षमा पुगेका हुन् । कोइरालाको दबाबमा प्रधानमन्त्री माधवकुमार नेपालले अघिल्लो साता सुजाता कोइरालालाई उपप्रधानमन्त्री नियुक्त गरेपछि कांग्रेसमा आन्तरिक विवाद चर्केको हो । पार्टी केन्द्रीय समितिमा यो प्रकरण चर्केपछि कार्यवाहक सभापति सुशील कोइरालाले सभापति कोइरालाकै उपस्थितिमा बैठक राखेर समाधान खोजिने बताई बैठक स्थगन गरेका थिए । स्रोतका अनुसार बैठकमा उपस्थित हुन आग्रह गर्न नेता पौडेल शुक्रबार कोइराला निवास पुगेका थिए । पौडेलले 'केन्द्रीय समितिमा गिरिजाबाबुकै उपस्थितिमा बैठक बोलाउन आग्रह भएको' भन्दै उपस्थित हुन आग्रह गरेका थिए । तर कोइरालाले आफ्नो स्वास्थ्यस्थिति बिग्रेकाले उपस्थित हुन नसक्ने जवाफ दिएका थिए । कोइराला अनुपस्थित हुने भएकाले आइतबार समेत बैठक हुन नसक्ने भएको छ । स्रोतका अनुसार केन्द्रीय समितिले सरकारबाट फिर्ता बोलाउने निर्णय नगरेमा संसदीय दलले त्यस्तो निर्णय लिनुपर्ने भन्दै दलका नेता पौडेललाई सभासदहरूले बैठक बोलाउन दबाब दिइरहेका छन् ।

No comments: