News

Oct 31, 2009

मन्त्रीको सुरक्षा गर्न मञ्चमै प्रहरीको पर्खाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मकवानपुर, बिहीबार कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्न गएका ऊर्जामन्त्री डा. प्रकाशशरण महतविरुद्ध माओवादीले उग्र प्रदर्शन गरेपछि तनाव भएको छ । मन्त्रीको सुरक्षामा सरकारले प्रहरी, सशस्त्र प्रहरी र सेना खटाएको थियो, तर पनि झडप हुँदा कांग्रेस र एमालेका कार्यकर्ता तथा प्रहरी घाइते भएका छन् ।माओवादीबाट उग्र विरोध हुने आशंकामा डा. प्रकाशशरण महतको सुरक्षाको निम्ति पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । तर, कालोझन्डा बोकेका माओवादी कार्यकर्ताले मन्त्री, सरकार र राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै कार्यक्रमको मञ्चसमेत भत्काइदिएका थिए ।मन्त्रीको सुरक्षाका लागि प्रहरीले अतिथिहरूलाई समेत कार्यक्रमस्थलभन्दा करिब एक किलोमिटर अगाडिदेखि नै चेकजाँच गरेको थियो । तर, चुपचाप कार्यक्रमस्थलमा प्रवेश गरेका माओवादी कार्यकर्ताले मन्त्री आउनासाथ नाराजुलुस गरेका थिए ।मञ्चमै प्रदर्शन गर्न माओवादीका जिल्ला सेक्रेटरी इन्द्रबहादुर परियारसहित केही सभासद् पनि कार्यक्रमस्थलमा थिए । उनीहरूलाई सुरक्षा खतरा भएको भन्दै प्रहरीले घेरेर राखेको थियो ।मन्त्री महत मञ्चमा आउनेबित्तिकै कालोझन्डा देखाउँदै माओवादी कार्यकर्ता नाराबाजीमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेका थियो । झडपमा एकजना प्रहरी जवान समीर केसी घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । सभासद् प्रेमबहादुर पुलामीसहित दसजना माओवादी नेता तथा कार्यकर्ता पनि घाइते भएका छन् ।तनावबीच अतिथिकै रूपमा कार्यक्रममा आएकी माओवादीकी गाउँ कमिटी सेक्रेटरी अप्सरा लामालाई भने सुरक्षाकर्मीले गलहत्याएर बाहिर निकालेका थिए । प्रहरीले खानतलासी सुरु गरेपछि माओवादी कार्यकर्ताले मन्त्रीको कार्यक्रममा जनता आउन किन नपाउने भन्दै नाराबाजी गरेका थिए ।कार्यक्रम हाताभित्र सयजना सैनिक पनि परिचालन गरिएको थियो । तर, नेपाली सेनाको सुपारीटार ब्यारेकका कर्नेल भुपाल बस्नेतले हेलिकोप्टरको सुरक्षाका लागि मात्र सेना पठाएको बताए ।बिहानैदेखि माओवादी कार्यकर्ताले चारैतिरबाट कार्यक्रमस्थल घेरेका थिए । सुरुमा एक सयको हाराहारीमा प्रहरी तैनाथ गरिएको थियो । मध्यक्षेत्र प्रहरी प्रमुख नवराज ढकालको आदेशमा थप प्रहरी परिचालन गरिएको थियो । क्षेत्रीय प्रशासक रुद्र श्रेष्ठ पनि कार्यक्रममा थिए । प्रमुख जिल्ला अधिकारी हरि मैनालीले चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री महतले माओवादीले शान्तिपूर्ण आन्दोलन भने पनि खासमा यो आन्दोलन अराजक भएको बताए । देशलाई नयाँ संविधान दिन र विकास निर्माणको काममा सबै एकजुट हुनुपर्ने महतको धारणा थियो । तनावबीच पनि १४ मेगावाटको उत्पादन क्षमता रहेको आयोजनाको शिलान्यास पनि मन्त्री महतले गरे ।ऊर्जामन्त्रीसँगै राज्यमन्त्री चन्द्रसिंह भट्टराई, एमाले नेता रणध्वज कङ्दवा र कांग्रेस नेत्री महालक्ष्मी उपाध्याय डिना पनि थिइन् । बिहीबारको कांग्रेस बैठकमा केन्द्रीय सदस्य उपाध्यायले घटनाबारे जानकारी गराएकी थिइन् ।मन्त्री र नेताहरूमाथि आक्रमण भएको भन्दै कांग्रेसले माओवादीको निन्दा गरेको छ । मुख्यसचिव रामचन्द्र पोखरेलको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा यस्ता आक्रमण नदोहोर्‍याउन माओवादीलाई चेतावनी पनि दिइएको छ ।

No comments: