News

Oct 25, 2009

एमाले र माओवादीका नेताहरुबीच भएको वार्तामा सहमति निकट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५अक्टोबर,२००९,राजनीतिक गतिरोध निकासका लागि प्रमुख सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका नेताहरुबीच आज भएको वार्तामा दुवै दल सहमति निकट पुगेको दावी गरिएको छ । राजधानीको शान्तिनगरस्थित माओवादी नेता डा. बाबुराम भट्टराईको निवासमा आज भएको वार्तामा नयाँ संविधान निर्माण गर्न प्रमुख तीन दल सहभागी छुट्टै कार्यदल गठन गर्न दुई दल सहमत भएका छन् । बैठकमा एकीकृत माओवादीले सबै समस्याको समाधान प्याकेजमा गर्न प्रस्ताव गरेको एमालेस्रोतले जनाएको छ । एमालेले प्याकेजमा समाधान गर्ने माओवादी प्रस्तावलाई अस्वीकार गर्दै आएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले नेता भरतमोहन अधिकारीले देशको विद्यमान समस्या समाधानका लागि एमाले र माओवादी सहमति निकट पुगेको जानकारी दिनुभयो । यस्तै साझा सहमतिको संकल्प प्रस्तावका बिषयमा पनि एमाले र माओवादीबीच छलफल भएको छ । एमालेले आजै नेपाली काँग्रेससँग पनि छलफल गर्ने एमाले नेताहरुले बताएका छन् । आजको दुई दलीय बैठकमा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ 'प्रकाश', एमालेका नेता भरतमोहन अधिकारी लगायतको सहभागिता रहेको थियो । वार्तापछि पत्रकारहरुलाई माओवादी उपाध्यक्ष प्रकाशले भन्नुभयो- वार्ता सकारात्मक दिशातर्फउन्मुख भएको छ । यस्तै सहमतिको मस्यौदा तयार पार्न गठन गरिएको प्रमुख तीन दलीय संयुक्त समितिको बैठक आज बस्ने सम्भावना रहेको छ । लामो समयदेखि विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि साझा सहमतिको संकल्प प्रस्ताव तयार पार्ने बिषयमा केन्द्रीत रहने बताइएको छ ।

No comments: