News

Oct 25, 2009

माओवादीद्वारा क्याम्पस प्रमुखमाथि सांघातिक आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, कार्तिक ८- माओवादी र उसको भातृ संगठन अखिल क्रान्तिकारीका विद्यार्थीले भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईमाथि सांघातिक आक्रमण गरी घाइते बनाएको छ। खुकुरी र खुँडा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको छ। विहान ११ वजे सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा अन्य सहकर्मी र कर्मचारीसँग छलफल गरिरहेका राईलाई माओवादी कार्यकर्ताले क्याम्पसको बरन्डामा निकालेर कुटपिट गरेका थिए। माओवादीका ११ नं. एरिया सेक्रेटरी इन्सान र अनेरास्ववियू (क्रान्तिकारी) की जिल्ला अध्यक्ष सुनिता राईको नेतृत्वमा आएका माओवादी कार्यकर्ताको समूहले क्याम्पस प्रमुख राईमाथि खुकुरी, खुँडा, लाठी र रड लगातार प्रहार गरेको प्रत्यक्षदर्शी तथा शिक्षा संकायका संयोजक उत्तमसिं राईले बताए। खुकुरी र अन्य हतियारको लगातारको प्रहारले राई घटनास्थलमै ढलेका थिए। पाँच मिनेटसम्म लगातार कुटपिट गरेपछि माओवादी कार्यकर्ताहरु क्याम्पसबाट भागेका थिए। कुटपिटबाट गम्भीर घाइते राईको भोजपुर अस्पतालमा उपचार भईरहेको छ। जिल्ला अस्पताल भोजपुरका अनुसार क्याम्पस प्रमुख राईको टाउको र शरीरका अन्य भागमा २५ बढी टाँका लगाइएको छ।क्याम्पस प्रमुख राईमाथि आक्रमणको अभियोगमा प्रहरीले अनेरास्ववियू (क्रान्तिकारी) की जिल्ला अध्यक्ष सुनिता राई, उपाध्यक्ष नविन परियार र सचिव दिनेश खनाललाई भोजपुर बजारबाटै पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए।उनले कुटपिटमा संलग्न अन्य भने फरार रहेको जनाएका छन्। 'क्याम्पस प्रमुखमाथि भएको यो जघन्य अपराधमा संलग्न जो सुकैलाई हामी कानूनी दायरामा ल्याउँछौं। कुटपिटमा संलग्न अन्य माओवादी कार्यकर्ताको पनि खोजी भईरहेको छ।' प्रजिअ खतिवडाले भने।क्याम्पस पम्रुख राईमाथि भएको कुटपिटको विरोधमा आइतवारै प्राध्यापक संघको नेतृत्वमा भोजपुर क्याम्पसका प्राध्यापकहरुले क्याम्पस परिसरमा पदर्शन गरेका छन्। उनीहरुले क्याम्पस जस्तो शिक्षाको मन्दिरमा भएको जघन्य अपराधका दोषीलाई दण्डित गर्न माग गरेका छन्।क्याम्पसमा कर्मचारी नियुक्तिको विषयलाई लिएर आपत्ती जनाउँदै क्याम्पस प्रमुख राईको राजिनामा माग्दै ५ महिनादेखि अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले आन्दोलनरत छन्। क्रान्तिकारीले क्याम्पस प्रमुख राईलाई यही विषयलाई लिएर कुटपिट गरेका हुन्। यस विषयमा नेपाल विद्यार्थी संघ भोजपुरले प्रेस विज्ञप्ती प्रकासित गरी क्याम्पस प्रमुख राईलाई कुटपिट गर्न आफ्नो संगठनको संलग्नता नभएको जनाएको छ।

No comments: